दीपेन्द्रको शानदार प्रदर्शनमा नेपालले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि

दीपेन्द्रको शानदार प्रदर्शनमा नेपालले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि

नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेकाे हाे । 

नेपालले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयाे । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए ।

चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायाे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक नटआउट ५४ रन बनाए । यस्तै करण केसीले १२ बलमा नटआउट ३३ रन बनाए । त्यस्तै आशिफ खेश २९ र कुशल भुर्तेल २५ रन बनाएर आउट भए । बलिङतर्फ पीएनजीका सेमाे कमियाले तीन विकेट लिए ।

नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । चार खेलमा चार जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो । पीएनजी भने दुई अङ्कसहित नेट रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनलमा पुगेकाे हाे ।