कम्युनिस्ट पार्टीमा भोट हाल्छु भन्नेहरूका लागी एमालेमा मात्र विकल्प छ: गुरुङ

कम्युनिस्ट पार्टीमा भोट हाल्छु भन्नेहरूका लागी एमालेमा मात्र विकल्प छ: गुरुङ

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय स्थानीय तह निर्वाचन केन्द्रित चुनावी प्रचार रणनीतिक भेला धनगढीमा सम्पन्न भएको छ । सोमबार एमाले सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना तथा प्रेस चौतारी नेपालको संयोजनमा धनगढीको रिद्वीसिद्वी पार्टी प्यालेसमा रणनीतिक भेला सम्पन्न भएको हो । 

भेलालाई संबोधन गर्दै नेकपा एमालेका केन्द्रीय उप-महासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले आफूहरू जनताको बहुदलीय जनवादको लागी स्पष्ट दृष्टिकोणका साथ लागेको बताउनुभयो । 

त्यस्तै, गुरुङले अन्य पार्टीका नेताहरू सँग सबैको जस्तै दृष्टि मात्रै भएको र एमाले र अध्यक्ष केपी शर्मा वली सँग दृष्टि सँगै दृष्टिकोण पनि भएको दाबी गर्नुभयो । गुरुङले अहिले कम्युनिस्ट विचार धारा भएका र कम्युनिस्ट पार्टीलाई भोट हाल्न चाहने व्यक्तिहरूको लागी नेपालमा एक मात्र कम्युनिस्ट पार्टी नेकपा एमाले भएकोले एमालेमै मतदान गर्न आग्रह गर्नुभयो । "अहिले कम्युनिस्ट भन्ने केही पार्टीहरूको काँग्रेसको झण्डा मुनि  गएका छन् । आफ्ना कम्युनिस्ट विचारधारा भएका निर्दोष कार्यकर्ता र आस्थावान् व्यक्तिलाई अन्तै भोट हाल्न लगाउँदै छन् । त्यसैले कम्युनिस्ट विचार भएका र कम्युनिस्ट विचार भएका व्यक्तिहरूका लागी एक मात्र पार्टी नेकपा एमाले छ । सबैलाइ एमालेमा भोट हाल्न आग्रह गर्दछु । नेपालमा अब कम्युनिस्ट पार्टी अरू छैनन् भन्दा हुन्छ ।" उहाँले भन्नुभयो । 

त्यसै गरी कार्यक्रममा बोल्दै नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले नेकपा एमाले गठबन्धनलाई हराउने र प्रदेशका ८८ ओटै पालिकाहरूमा बहुमत ल्याउने गरी तयारी अघि बढाएको बताउनुभयो । 

भेलाले अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति सम्बन्धी छलफल गरेको छ । भने कार्यक्रममै   भेलामा माओवादी केन्द्र परित्याग गरी कञ्चनपुरको दोधरा चाँदनीबाट ३ जना नगर कमिटी सदस्यसहित १२ जना एमालेमा प्रवेश गरेका छन् । नगर कमिटी सदस्य दामोदरप्रसाद भट्ट, अर्जुन गिरी, जनक थापा, वडा कमिटीका लोकराज अवस्थी, महेन्द्र प्रसाद भट्ट, गगन महर लगायतका १२ जना एमालेमा प्रवेश गरेका छन् । 

उनी हरहरूलाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् । 

माओवादी विचार, सिद्धान्तबाट विचलित भइसकेको र एमालेले सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई साकार बनाउने भन्दै उनीहरूले पार्टी प्रवेश गरेको बताएका छन् ।