कंगोमा विद्रोहीको आक्रमणबाट शान्ति मिशनमा रहेका एक नेपाली सैनिकको मृत्यु

कंगोमा विद्रोहीको आक्रमणबाट शान्ति मिशनमा रहेका एक नेपाली सैनिकको मृत्यु

शान्ति मिशनका लागि कंगोमा रहेका एक नेपाली सैनिक जवानको विद्रोहीको आक्रमणमा परेर मृत्यु भएको छ।

अपरेशन 'बाली' का क्रममा विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट घाइते भएपछि हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा लगिएका सुर्खेत, गुर्माकोट-१४का सिपाही अनिल गुरुङ्ग मंगलबार उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले कर्तव्य पालनाको सिलसिलामा नेपाली शान्ति सैनिकको मृत्युवरण भएको बताउँदै उनको योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन्।

‘शान्ति स्थापना जस्तो महान एवं पवित्र कार्यमा संलग्न नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा निज शान्ति सैनिकप्रति प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट उहाँको बलिदानीपूर्ण योगदानप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ।

सिंगो नेपाली सेनालाई नै स्तब्ध बनाएको यस दुस्खद् घडीमा शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना प्रकट गर्दछ’ जंगी अंड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।