४महिनादेखि पुस्तकालय व्यवस्थापन र शिक्षक नभएकोभन्दै खप्तड कलेजमा विद्यार्थीहरुको ताला

४महिनादेखि पुस्तकालय व्यवस्थापन र शिक्षक नभएकोभन्दै खप्तड कलेजमा विद्यार्थीहरुको ताला

धनगढी । विगत ४ महिनादेखि पुस्तकालय व्यवस्थापन र एनाटोमी शिक्षकको अत्तो पत्तो नभएको लगायतका समस्या दर्साउँदै धनगढीको खप्तड टेक्निकल कलेजमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

कलेजमा आवश्यक शैक्षिक सामाग्रीको अभाव, ४ महिना देखी एनाटोमी विषयका शिक्षकको अत्तोपत्तो नभएको,  पुस्तकालय व्यवस्थित नभएको, दैनिक कक्षा सञ्चालन नहुने, विद्यार्थीहरूलाई डर त्रासमा राखी अध्यापन गराउने, विगत ४ वर्ष देखी खेलकुद शुल्क लिए पनि अहिले सम्म खेलकुद सम्बन्धी कुनै पनि क्रियाकलाप नभएको, विद्यार्थीहरू बाट परिचय पत्र बनाउने भनी शुल्क लिए पनि परिचयपत्र नबाँडेको लगायतका आरोपहरू लगाउँदै आन्दोलित विद्यार्थीहरूले तालाबन्दी गर्न बाध्य भएको बताएका छन् । 

विद्यार्थीहरूको हकहितका लागी र कलेज प्रशासनले विद्यार्थीहरूको माग सम्बोधन गर्नु पर्ने आवाज उठाउँदा सोही क्याम्पसमा कार्यरत (डिआई) अनुशासन प्रमुख एवम् नेवि संघका युवा नेता एसपी भट्टलाई  पदबाट हटाइएको उक्त कलेजमा अध्ययनरत विद्यार्थी रित्तीक सिंह ठकुरीले बताए । 

यस्तै, सोही कलेजमा अध्ययनरत अर्का विद्यार्थी चन्द्र भट्टका अनुसार विद्यार्थीहरू का समस्या हल गर्न पटक-पटक कलेज प्रशासनलाई आग्रह गर्दा पनि सम्बोधन नगरेको र व्यवास्ता गर्दै कलेज प्रशासनले टार्दै आएको थियो । 

त्यस्तै, पढाई सुरु भएको चार महिना हुँदा पनि रकम मात्रै असुल्ने तर गुणस्तरीय शिक्षामा चासो नदिएको विद्यार्थी पुष्पराज भट्टको आरोप रहेको छ । 

यद्धपी सो बारे थप बुझ्न क्याम्पसमा फोन गर्दा सम्पर्क हुन सकेन ।