१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान सुरु

१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान  सुरु

१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान भएको छ।

आउँदो वैशाख १८ गतेसम्म हुने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको छ । टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । आजदेखि देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी छ ।

विद्यालयमै समेत खोपकेन्द्र राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजदेखि राष्ट्रिय अभियान हुँदै भए पनि बालबालिकालाई यसअघि नै खोप दिन सुरु भइसकेको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको उद्घाटन गर्नुभएको थियो ।

पानीजन्य रोगबाट हुने टाइफाइड, हैजाजस्ता समस्या हरेक वर्ष बढिरहेका छन् । टाइफाइडबाट ज्यान गुमाउनेको सङ्ख्या कम भए पनि सङ्क्रमणदर धेरै रहेकाले जोखिममा रहेका समूहलाई खोप दिन थालिएको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो ।

यसैबीच, टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाण्डौ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले सूचना निकालेर आजदेखि आउँदो वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले सहयोग गर्न आग्रह गरेको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार महानगरका सामुदायिक र निजी गरी ६ सय विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ । अहिले चालु शैक्षिकसत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न उहाँको आग्रह छ ।