डडेल्धुरामा रिपिटर टावर बन्ने

डडेल्धुरामा रिपिटर टावर बन्ने

डडेल्धुरा :  डडेल्धुरा अजयमेरु गाउँपालिका–१ खस्रान डाँडामा नेपाल टेलिभिजनको रिपिटर टावर बन्ने भएको छ । भूसतही प्रविधिमार्फत नेपाल टेलिभिजनलाई  डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका अन्य तीन वटा पहाडी जिल्लाका ग्रामीण भेगसम्म प्रसारणको पहुँचका लागि डडेल्धुरामा रिपिटर टावर निर्माण हुन लागेको हो ।

जिल्लाको अमरगढी नगरपालिकाको पलेत्थर डाँडा र अजयमेरु गाउँपालिकाको खस्रान डाँडामा सर्वेक्षण गर्दा सो ठाउँ उपयुक्त भएको पाइएपछि  रिपिटर टावर बन्न लागेको हो । टावरका साथै आवश्यक पर्ने भवन निर्माणका लागि स्थानको छनोट साथै जग्गाको नाप गरिसकेको नेपाल टेलिभिजनका इञ्जिनीयर सुरेन्द्रकुमार कर्णले बताउनु भएको छ ।

टावर बनाउनका लागि जग्गाको भोगाधिकार लिनुका साथै अन्य प्रक्रिया शुरु भइसकेको छ । टावरको निर्माण कार्य चाँडै शुरु गर्ने नेपाल टेलिभिजनका प्रशासन अधिकृत गङ्गा खतिवडाले बताउनुभयो । टावर बन्ने भएपछि डडेल्धुरा, बैतडी, बझाङ जिल्लाका अधिकांश भागमा नेपाल टेलिभिजनको सहज पहुँच हुने भएको छ । 

नेपाल टेलिभिजनले चालू आवमा डडेल्धुरासहित देशका विभिन्न भागमा तीन वटा रिपिटर टावर निर्माण गर्न थालेको टेलिभिजनले जनाएको छ ।