टी-२० विश्वकप २०२४ मा, नेपालको सम्भावना कति ?

टी-२० विश्वकप २०२४ मा, नेपालको सम्भावना कति ?

धनगढी  / उत्तर अमेरिकामा  हुन लागेको आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्दैछन्। 

पहिलोपटक  टी-२० विश्वकपमा २० टिमले सभागिता जाउँदैछन्। आइसिसीले २०२४ देखि पहिलोपटक २० टिमबीच टी-२० विश्वकपमा प्रतिस्पर्धा गराउन लागेको हो।

आइसिसीले यो विश्वकपका लागि छनोटको ढाँचा आइतबार सार्वजनिक गरेको छ। आइसिसीको बोर्ड बैठकको निर्णयअनुसार १२ टिम विश्वकपमा सिधा पुग्नेछन् भने ८ टिमले क्षेत्रीय छनोट चरणमा पार गर्नुपर्नेछ।

आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको शीर्ष आठ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट हुनेछन्।

अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट हुने आइसिसीले निर्णय गरेको छ। हाल आइसिसी टी-२० विश्व वरीयतामा २८औं स्थानमा रहेको अमेरिका पहिलो पटक टी-२० विश्वकपमा छनोट भएको छ।

वेस्ट इन्डिजले आगामी नोभेम्बरमा सकिने टी-२० विश्वकपको शीर्ष ८ मा स्थान बनाए आइसिसी विश्व वरीयताको आधारमा ३ टिम टी-२० विश्वकप २०२४ मा पुग्नेछन्। वेस्ट इन्डिज शीर्ष आठमा नपुगे विश्व वरीयताबाट २ टिममात्र छनोट हुनेछन्।

१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई छनोटको आधार मानिनेछ। यो मिति अस्ट्रेलियामा टी-२० विश्वकप सकिएको भोलिपल्ट हो।

हालको विश्व वरीयतामा नेपाल १२औं स्थानमा छ। जसका कारण नेपाल विश्वकपमा सिधा छनोट हुने केही सम्भावना देखिन्छ।

हाल वरीयताका नेपालभन्दा अघि रहेका ११ टिम मध्ये आठ टिम अस्ट्रेलियामा हुने विश्वकपमा शीर्ष आठमा परे नेपाल सिधा छनोट हुनेदेखिन्छ। तर त्यसको लागि नेपालले अहिलेको १२औं वरीयतालाई कामय राख्नु पर्नेहुन्छ।

अहिलेको वरीयतामा नेपालभन्दा पछि रहेका टिम शीर्ष आठमा परेको अवस्थामा भने नेपालको सम्भावना सकिन सक्छ। हालको वरीयतामा नेपालभन्दा तल युएई, स्कटल्यान्ड, आयरल्यान्ड जस्ता बलिया  टिम छन्।

वरीयतालाई बढाउन नेपालले आगामी दिनमा बढीभन्दा बढी टी-२० अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल खेल्दै जित हात पार्नु पर्नेहुन्छ।

वरीयताको आधारमा टी-२० विश्वकपमा छनोट हुन नसके नेपालले क्षेत्रीय छनोट खेल्नु पर्नेछ।

क्षेत्रीय छनोटबाट ८ टिमले विश्वकपमा स्थान बनाउनेछन्। जसमा एसिया, अफ्रिका र युरोप छनोटबाट दुई-दुई टिम विश्वकपमा पुग्नेछन्। अमेरिका र इस्ट एसिया प्यासेफिकबाट एक-एक टिम विश्वकपमा पुग्नेछ।

एसियाको क्षेत्रीय छनोट खेलेमा नेपालले शीर्ष दुईमा पर्नुपर्नेछ।

आइसिसीले २०२४ को विश्वकपमा विश्व छनोट प्रतियोगिता भने नगर्ने भएको छ।

सन् २०१४ मा विश्वकप छनोट पार गरेर नेपालले पहिलो पटक विश्वकप खेलेको थियो।

त्यसयता भने नेपाल छनोटमा असफल हुँदै आएको छ। गत महिना २०२२ को विश्वकपका लागि भएको विश्व छनोटमा नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदा विश्वकपमा पुग्न असफल भएको थियो।