भारतका दुई मन्त्री अमेरिकामा, बाइडेन र मोदीबीच आज भर्चुअल कुराकानी हुने

भारतका दुई मन्त्री अमेरिकामा, बाइडेन र मोदीबीच आज भर्चुअल कुराकानी हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल कुराकानी हुने भएको छ।भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार साँझ बाइडेन र मोदीबीच कुराकानी हुने तय भएको छ।

अमेरिका र भारत रूसले युक्रेनमाथि गरेको आक्रमणका विषयमा फरक-फरक पोजिसनमा छन्। अमेरिकाले रूसी आक्रमणको भत्सर्ना गर्दै उसमाथि आर्थिक नाकाबन्दी लगाएको छ भने भारत यो विषयमा तटस्थ बसेको छ।

पछिल्लो समय भारतले रूससँग सस्तो पेट्रोलियम पदार्थ किन्न लागेको चर्चा पनि चलिरहेको छ। बाइडेन र मोदीबीच युक्रेनमाथि रूसी आक्रमणसहित अरू दुई पक्षीय सहकार्य र विश्वव्यापी मुद्दाहरूमा कुराकानी हुने बताइएको छ। भारत र अमेरिका दुबै क्वाडका सदस्य हुन्।

बाइडेन-मोदी भर्चुअल संवादअघि भारतका दुई जना महत्वपूर्ण मन्त्री वासिङ्टन पुगेका छन्। विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह आइतबार वासिङ्टन पुगेका हुन्। वासिङ्टनमा उनीहरूले आफ्ना समकक्षीहरूसँग कुराकानी गर्नेछन्।

बाइडेन-मोदीको भर्चुअल संवाद सकिएपछि अमेरिका भारत टु प्लस टु अर्थात् दुबै देशका विदेश र  रक्षा मन्त्रीको बैठक हुनेछ।