फेरि सत्याग्रह सुरु गर्ने डा.गोविन्द केसीको चेतावनी

फेरि सत्याग्रह सुरु गर्ने डा.गोविन्द केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले अस्पताललाई गैरचिकित्सकको नेतृत्व नदिने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । डा.केसीले आफ्ना माग सम्बोधन नभए सत्याग्रह थाल्ने चेतावनी समेत दिएका छन् ।

उनले सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउन माग गरेका छन् । जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित हुनुपर्ने, संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्ने लगायत उनको माग छ।

डा. केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विभिन्न प्रतिष्ठानमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरिनुपर्ने डा.केसीको माग छ ।