निर्वाचन सफल पार्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ : आयुक्त तुलाधर

निर्वाचन सफल पार्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ : आयुक्त तुलाधर

धनगढी । निर्वाचन आयुक्त डा.जानकी तुलाधरले स्थानीय तह निर्वाचनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । निर्वाचन आयोगले आज धनगढीमा आयोजना गरेको मिडिया अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन ।

उनले निर्वाचन सफल पार्नमा मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरिन् । उनले आयोगले संविधानले तोकेको जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सदैव तत्पर रहेको बताइन् ।

बदर मत सङ्ख्या घटाउनका लागि आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उनको भनाइ थियो । सबै एकताबद्ध भएर स्थानीय तहको चुनाव सफल पार्नु पर्ने उनको भनाई छ ।

यस्तै पत्रकार महासंघका महासचिव रोशन पुरीले चुनावको समयमा संवेदनशील भएर काम गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । उनले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्न अनुरोध गरे । राजनीतिक दलका समाचार लेख्दा पक्ष र विपक्ष नभएर सन्तुलन मिलाएर लेख्न पनि उनले अपिल गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले सञ्चार जगत र पत्रकारले पालना गर्नु पर्ने आचारसंहिताको बारेमा प्रस्तुति गरेका थिए । उनले सबै राजनीतिक दलसंग खुला र तटस्थ रहेर सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे । 

यसैगरी, मत बदर सङ्ख्या घटाउन मतदाता शिक्षाको रुपमा काम गर्न पत्रकारलाई आग्रह गरे । ‘निर्वाचनमा सञ्चारको भूमिका मतदाता, आयोग र दलबीच पुलको काम गर्ने हो’, उनले भने ।