भन्सार छलीका मोबाइलको कारोबारले धनगढीका मोबाइल व्यवसायी मारमा

भन्सार छलीका मोबाइलको कारोबारले धनगढीका मोबाइल व्यवसायी मारमा

धनगढी । धनगढीमा मोबाइल व्यवसायीहरूले नव वर्ष २०७९ अवसर पारी शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । शनिवार त्रिपक्षीय मोबाइल व्यवसायीहरूले सो कार्यक्रमको आयोजना गरेका हुन् । 

धनगढी मोबाइल व्यवसायी सङ्घका अध्यक्ष योगराज भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशी रहेका थिए । 

शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रममा बोल्दै धनगढी मोबाइल व्यवसायी सङ्घका अध्यक्ष योगराज भट्टले आफूहरूले मोबाइल व्यवसायीहरूले अहिले सम्म गरेको कार्य समीक्षा, नयाँ वर्षको शुभकामना आदान प्रदान र आगामी दिनमा के(कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । 

यस्तै, भट्टले पछिल्लो समय प्रदेश सरकार तथा सरकारी निकायहरूले सहयोग गरिरहेको भए पनि चोरी पैठारीबाट आएका मोबाइल यहाँ ल्याएर सस्तोमा बेच्ने बिगबिगी बढेकोले आफूहरूले कर तिरेर नियम संम्बत गरिरहेको मोबाइल व्यवसायी लाई निकै समस्या हुने गरेको बताए । ''हामीले सबै ठाउँबाट सहयोग पाइरहेका छौँ । अहिले चोरी पैठारी गरी, भन्सार छली मोबाइल यहाँ ल्याउने र सस्तोमा बेच्ने प्रवृत्ति हाबी भइरहेकाले कर तिरेर नियम सङ्गत मोबाइल व्यवसाय गरिरहेकाहरू लाई निकै समस्या भइरहेको छ । सो गलत कार्य नियमन गर्न सहयोग गरी दिन सबैलाई आग्रह गर्दछु ।'' उनले भने । 

त्यस्तै, कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले मोबाइल व्यवसाय लाई नियमन र व्यवस्थित गर्दै लैजान सदैव सहयोगी भूमिका खेल्ने र अहिले भइरहेका साइबर घटनाहरू बाट सचेत रहन सबै मोबाइल व्यवसायीहरू लाई आग्रह गरेका छन् । 

उक्त कार्यक्रममा फारवइस्ट मार्केटिङ टिम, धनगढी मोबाइल व्यवसायी सङ्घका पदाधिकारीहरू, र नेपाल मोबाइल वितरक सङ्घ धनगढीका सदस्य तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।