स्थानीय तह निर्वाचन : डोटीका ५ गाउँपालिमा एमालेले छान्यो उम्मेदवार

स्थानीय तह निर्वाचन : डोटीका ५ गाउँपालिमा एमालेले छान्यो उम्मेदवार

डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले डोटीका पाँच गाउँपालिकाका अध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ ।

एमालेले जोरायल गाउँपालिकाको अध्यक्ष पदका लागि दुर्गादत्त ओझालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।ओझा गत निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । ओझाले आफ्ना प्रतिस्पर्धीलाई ६ सय ३६ मतले पछि पारेका थिए ।

यस्तै, सायल गाउँपालिकाको अध्यक्ष पदमा तेजबहादुर डुम्रेललाई सर्वसम्मत उम्मेदवार छानेको छ । डुम्रेल ०७४ को निर्वाचनबाट निर्वाचित अध्यक्ष हुन् । डुम्रेलले प्रतिस्पर्धीलाई ३१९ मतले पछि पारेका थिए ।

आदर्श गाउँपालिकाको अध्यक्षका उम्मेदवारका रुपमा डम्मरबहादुर वली चयन भएका छन् । गाउँपालिकाको अध्यक्षका लागि तीन जनाको दावी परेपछि आपसमा सहमति हुन नसक्दा गाउँ कमिटीका पदाधिकारी र सदस्यहरुले मतदान गरेका थिए । मतदानमा ४१ मत प्राप्त गरी वली अध्यक्षको उम्मेदवारका लागि छानिए ।

उम्मेदवार चयनका लागि बसेको गाउँ कमिटी बैठकमा ८९ सदस्यमध्ये ७८ जना सहभागी थिए । एमाले डोटी जिल्ला कमिटी सदस्य समेत रहेका वली २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको गिरीचौका गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्षका लागि हस्तबहादुर बुढालाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ भने केआई सिंह गाउँपालिकाका लागि तेजबहादुर माझी सर्वसम्मत उम्मेदवार बनेका छन् ।