एकीकृत समाजवादीको घोषणापत्र : बजेटको प्राथमिकता स्वास्थ्य, मदिरा सेवन कार्डको व्यवस्था

एकीकृत समाजवादीको घोषणापत्र  : बजेटको प्राथमिकता स्वास्थ्य, मदिरा सेवन कार्डको व्यवस्था

नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा अध्यक्ष माधव नेपालले पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणपत्रमा उक्त पार्टीले  जनताको अधिकार निःशुल्क स्वास्थ्योपचार भन्ने नारा अघि सारेको छ।  उसले जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख गरेको छ। ुस्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने छ।ु घोषणापत्रमा भनिएको छ। 

स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने  र यसका लागि  आवश्यक पर्ने जनशक्ति उत्पादन र साधन–स्रोतको वितरणमा संघ र प्रदेश सरकारहरूसँग सहकार्य गरिने  उक्त पार्टीले जनाएको छ। विभिन्न शल्यक्रियाहरु निशुल्क गर्ने पनि एकीकृत समाजवादी पार्टीको घोषणा पत्रमा उल्लेख छ। ुजटिल खालका शल्यक्रियाहरू जस्तै– मुटु, मिर्गौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्करूपमा उपलब्ध गराइने छ।ु घोषणापत्रमा भनिएको छ।  

स्वास्थ्योपचार सम्बन्धी स्थानीय ज्ञान र सिपको संरक्षण गर्नुका साथै स्थानीय स्तरमा आधुनिक स्वास्थ्य सेवा पुर्‍याउनु स्थानीय सरकारको प्रमुख कर्तव्य हुने छ घोषणा पत्रमा थप भनिएको छ, ुपालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्नका लागि स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्ने छन्। यसबाट एकातिर दूर–दराजका जनताले पनि घरआगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन् भने अर्कोतिर स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ।ु

यस्तै जनताको सहज स्वास्थ्य उपचारका लागि घुम्ती स्वास्थ्य शिविर, मोबाइल नर्सिङ, टेली मेडिसिनका साथै टोल टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी औषधि र जनशक्तिको उचित व्यवस्था गरिने छ र सामुदायिक नर्सिङ सेवाअन्तर्गत जनताको घर घरमा गएर स्वास्थ्य परीक्षण गर्ने तथा उपचारका लागि अस्पताल पुर्‍याउने सेवा उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ।

उसले  सुविधासम्पन्न बर्थिङ सेन्टर, स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला लगायतका सुविधा उपलब्ध गराइने कुरामा समेत जोड दिएको छ।

सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने, स्वास्थ्य स्वयंसेविका र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई आवश्यक तालिम तथा प्रोत्साहन भत्ताको  व्यवस्था गर्ने, स्वास्थ्य बिमालाई सहज र सुलभ बनाइने, अस्पताललगायत स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, साधन स्रोत र जनशक्तियुक्त बनाइने, बौद्धिक अपाङगता भएकाहरूको उपचार र आवश्यक सहयोगको व्यवस्था गरिने जस्ता महत्वकांक्षी एजेन्डाहरु उक्त पार्टीले घोषणापत्र मार्फत सार्वजनिक गरेको छ। 


पार्टीले मदिरा सेवनले विकृति र अपराध बढेको भन्दै आफूले जितेको स्थानीय तहमा मदिरा सेवन कार्डको व्यवस्था गर्ने घोषणा गरेको छ। घोषणापत्र पार्फत पार्टीले मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था गर्ने बताएको हो। 

घोषणापत्रमा भनिएको छ, ‘जथाभाबी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ। मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था गरिने छ। यसबाट जथाभाबी रूपमा मदिरा सेवनमा नियन्त्रण हुने छ भने सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने छ।’

पार्टीले आफ्नो घोषणापत्रमा नेपाली घरेलु पेय पदार्थको व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने पनि बताएको छ। नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरूले रुचिपूर्वक सेवन गरेको बताउँदै पार्टीले नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनाबद्ध ढङ्गले अगाडि बढाउने आफ्नो घोषणापत्रमा जिकिर गरेको छ।