छोरीलाई सोध्दा र बुझ्दै जाँदा होइन रहेछ : पल शाह प्रकरण

छोरीलाई सोध्दा र बुझ्दै जाँदा होइन रहेछ : पल शाह प्रकरण

अभिनेता पल पूर्णविक्रम शाहविरुद्ध जबर्जस्ती करणीको मुद्दामा मंगलबार दुईजनाको बकपत्र भएको छ । जाहेरीवाला पीडितका बुबा र दुर्गेश दुर्गाबहादुर थापाको बकपत्र भएको हो । दुवैले शाह निर्दोष रहेको र बलात्कार नभएको भनी बकपत्र गरेको वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए ।

वाग्लेका अनुसार बकपत्र दिने क्रममा नाबालिकाका बुबाले सामाजिक सञ्जालमा घटनाबारे आएकाले आफूलाई दबाब दिएर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन लगाइएको जिकिर गरेका छन् । ‘अहिले बुझ्दै जाँदा थाहा भयो कि मलाई फसाइएको रहेछ । झुटो जाहेरी दिएको रहेछु । अहिलेको बकपत्र सही हो । पल शाह निर्दोष छन्,’ पीडितको बुबाले गरेको बकपत्र उल्लेख गर्दै उनले भने । त्यस्तै, दुर्गेश थापाले पनि शाह निर्दोष रहेको भनेर बकपत्र दिएको वाग्लेले बताए ।

जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले मंगलबार दुईजनाको बकपत्र गरेको बताए । ‘दुर्गेश थापा जो घटनामा सामेल नै थिएनन्, उनले पहिले जे थियो, त्यही बोले,’ शर्माले भने । पीडित नाबालिकाका बुबाले आफूले दिएको जाहेरी गलत भएको बकपत्र दिएको उनले बताए । ‘हस्ताक्षर मेरो हो, सहीछाप मेरो हो, सबै हो । पहिला बुझिनँ र जाहेरी दिएँ । अहिले छोरीलाई सोध्दा र बुझ्दै जाँदा होइन रहेछ । मैले जाहेरी दिएको रहेछु, गलत भएछ,’ पीडितका बुबाको भनाइ उद्धृत गर्दै शर्माले भने ।

शाह प्रकरणमा एकपछि अर्को जाहेरीवालाले फरक बयान दिएका छन् । पीडित भनिएकी बालिका र उनका बुबाले फरक किसिमको बयान दिएपछि घटनाले फरक मोड लिएको हो । ‘अब जाहेरी व्यहोरा हेरिन्छ । घटनास्थल मुचुल्का हेरिन्छ, प्रतिवादीहरूको बयान हेरिन्छ । स्वास्थ्य परीक्षण रिपोर्टका कुरा हुन्छ । सबै कुरा हेरिन्छ । यी सबै कुराको न्यायालयले प्रमाण मूल्यांकन गरेर अगाडि बढ्ने काम हुन्छ,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने ।

बकपत्र गर्नेक्रममा पीडित नाबालिगले शाहसँग सम्बन्ध नभएको भनेको जिल्ला न्यायाधिवक्ता शर्माले बताए । ‘पीडितले बकपत्र गर्ने वेला अरू कुरा सबै स्वीकार गरिन् । बसेको कुरा, उठेको कुरा, सुतेको कुरा, भेट भएका ठाउँहरू सबै भनिन् । उनले जबर्जस्ती भएको होइन भनिन्,’ उनले भने ।

जाहेरीवालाले विपरीत बयान दिएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले बताए । जाहेरीलाई प्रतिकूल हुने गरी बयान दिएको उनको भनाइ छ । बकपत्रमा पहिलेको जाहेरी व्यहोरालाई प्रतिकूल हुने गरी बयान फेरेको उनले बताए । शाहविरुद्ध जबर्जस्ती करणीको मुद्दामा बकपत्र दिने क्रममा केही दिनअगाडि १७ वर्षीया नावालिगले बयान फेरेकी थिइन् । उनले जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेख भएका विवरणहरू सत्य नभएको बताएकी हुन् । 

नाबालिका जबर्जस्ती करणीको अभियोगमा शाह पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले १० चैतमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।