नेकपा एस लाई पन्छ्याउदै दार्चुलामा कांग्रेस र माओवादीको भागबन्डा

नेकपा एस लाई पन्छ्याउदै दार्चुलामा कांग्रेस र माओवादीको भागबन्डा

धनगढी । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलहरुबीच भागबन्डामा सहमति बनेको छ । 

लामो छलफलपछि मंगलवार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने समझदारी बनेको हो । यसअघि स्थानीय तहमा भागबन्डाको कुरो नमिल्दा सहमति हुन सकेको थिएन् । केन्द्रीय सत्ता गठबन्धनलाई जिल्लामा पनि कायम गर्नेगरी स्थानीय तहमा समझदारी भएको नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति ललित सिंह बोहराले जानकारी दिए । 

मंगलवार भएको भागबन्डाको सहमतिमा नेपाली काँग्रेसले ५ स्थानीय तहमा प्रमुख र नेकपा माओवादी केन्द्रले ४ स्थानीय तहमा प्रमुख पाउने भएको छ । नेपाली काँग्रेसले महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहुँ गाउँपालिका, व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिका पाउने र माओवादीले मार्मा गाउँपालिका, अपी हिमाल गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकामा प्रमुख पाउने सहमति भएको काँग्रेस सभापति बोहराले बताए । यस्तै काँग्रेसले ७ पालिका अपी हिमाल, मार्मा, शैल्यशिखर, महाकाली, लेकम, दुहुँ र नौगाड० मा उपप्रमुख÷उपाध्यक्ष पाएको छ भने माओवादीले २ पालिका ९व्याँस र मालिकार्जुन मा उपाध्यक्ष पाएको छ । सहमति अुनसार काँग्रेसले ४६ वटा वडा पाएको छ । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले ५ स्थानीय तह, नेकपा एमालेले ३ र नेकपा माओवादीले १ स्थानीय तह जितेको थियो । 

सत्ता गठबन्धनको सहमति अनुसार काँग्रेसले यसअघि जितेका पालिकामा नै चित्त बुझाएको छ । भने अघिल्लो चुनावमा एक स्थानीय तह जितेको माओवादीले यसपाली थप तीन पालिका पाएको छ । जिल्लामा सत्तागठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीलाई पनि मिलाएर जाने सहमति अनुसार एक दुई ठाउँमा वडाअध्यक्ष तथा केही सदस्य दिने बुझिएको छ । यसबारे पत्रकार सम्मलेन गरी जानकारी गराइने बताइएको छ ।