अनुमति बिना जन्मदिनको पार्टी दिने अमेरिकी कम्पनीलाई ४ लाख डलर जरीवाना

अनुमति बिना जन्मदिनको पार्टी दिने अमेरिकी कम्पनीलाई ४ लाख डलर जरीवाना

संयुक्त राज्य अमेरिकामा आफ्ना एक कर्मचारीको इच्छाविपरित जन्मदिन मनाइदिएको कम्पनीले ४ लाख ५० हजार अमेरिकी डलर जरीवाना तिर्नुपर्ने भएको छ।

आफू कार्यरत कम्पनीले आफ्नो इच्छाविपरीत जन्मदिन मनाइदिएको भन्दै केभिन बर्लिङले अदालतमा मुद्दा हालेका थिए।

यही वर्ष मार्चको अन्त्यतिर दुई दिनको सुनुवाइपछि जुरीले उनलाई ४ लाख ५० हजार डलर तिर्न कम्पनीलाई आदेश दिएको छ।


त्यसमध्ये १ लाख ५० हजार डलर तलबबापत र बाँकी ३ लाख डलर भावनात्वक पीडाका लागि भएको अदालतले भनेको  छ।

पीडित व्यक्तिले जन्मदिन मनाउन आयोजना गरिने कार्यक्रमले आफूलाई तनाव बढाउने र त्यसले आफू आत्तिने भन्दै अरू कर्मचारीको जन्मदिनमा जस्तो आफ्नोमा उत्सव नमनाउन आग्रह गरेका थिए।

सन् २०१९ मा ग्र्याभिटी डाइअग्नोस्टिक्समा आयोजना गरिएको पार्टीपछि आफूलाई पटकपटक तनाव भएको र आत्तिएको दाबी उनले मुद्दामा गरेका छन्।

बर्लिङले मुद्दामा अपाङ्गताका कारण आफूलाई भेदभाव गरिएकोसमेत आरोप लगाएका थिए। तर रोजगारदाता कम्पनीले आफूले त्यस्तो कुनै अपराध नगरेको दाबी गरेको छ।

उक्त कम्पनीले अगस्ट २०१९ मा बिनाजानकारी उनको जन्मदिनको पार्टी आयोजना गरिदिएको थियो। त्यसपछि उनलाई अत्याहट भयो र तत्कालै उक्त कार्यक्रमबाट बाहिर निस्किएका थिए।

त्यसको भोलिपल्ट अफिसको एउटा बैठकमा सहकर्मीहरूले उनको आलोचना गरेका थिए। उनलाई आफ्ना सहकर्मीको खुसीप्रति बेवास्ता गरेको र सानो केटाकेटीको जस्तो व्यवहार गरेको आरोपसमेत लगाइएको मुद्दामा उल्लेख छ।

तनावपूर्ण बैठकपछि उनलाई दोस्रो पटक तनाव र अत्याहट भयो। त्यसपछि उनलाई घर पठाइएको थियो। यो सँगै कम्पनीलाई उनलाई २ दिनको छुट्टि दिएको थियो र केही दिनपछि कम्पनीले उनलाई कार्यस्थलको सुरक्षाको कारण देखाउँदै जागिरबाटै हटाएको थियो।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत जुली ब्रजिलले कार्यस्थलमा हुने हिंसासम्बन्धी नीति उल्लङ्घन गरेका बर्लिङलाई आफ्नो कम्पनीले गरेको कामबाट हटाउने निर्णयबारे दृढ भएको बताएकी छन्। साथै अदालतको निर्यणबारे पुनरावलोकनमा जाने बताएकी छन्।