धनगढीको उपमेयरमा गठबन्धनबाट अधिकारीको सम्भावना बलियो

धनगढीको उपमेयरमा गठबन्धनबाट अधिकारीको सम्भावना बलियो

धनगढी । धनगढी उपमहानगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी उम्मेदवार बन्ने सम्भावना बलियो बनेको छ । पाँच दलीय सत्ता गठबन्धनले बुधबार धनगढी उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रबाट उठाउने निर्णय गरेको थियो। 

माओवादी केन्द्रको जिल्ला कमिटिले प्रदेशलाई अधिकारीको नाम मेयरमा सिफारिस गरेको थियो। माओवादी केन्द्रबाट मेयरमा नाम सिफारिस हुने उनी एक्ली हुन । 

माओवादी केन्द्रले जिल्ला कमिटिमा भने उपमेयरमा कृष्ण प्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम सिफारिस गरेको थियो। तर पार्टीका एक प्रदेश कमिटि सदस्यले मेयरमा नाम सिफारिस भएकी अधिकारीको अब उपमेयर बन्ने सम्भावना रहेको बताए।

‘हामीले प्रदेश कमिटिमा शान्ति अधिकारीको नाम मेयरको उम्मेदवारमा सिफारिस गरेका हौं। भागबन्डामा मेयर नपाएपछि उहाँ उपमेयरको स्वभाविक उम्मेदवार हो,’ माओवादी केन्द्रका एक सदस्यले धनगढीखबरसँग भने। अधिकारीले पनि पार्टीले तत्कालै नाम सिफारिस गरिनसकेको भएपनि आफू उपमेयर बन्ने सम्भावना रहेको र उपमेयर पद सहर्ष स्वीकार गर्ने बताएकी छिन।

‘पार्टीबाट मेयरको दाबेदार हुँ। गठबन्धनको कुरा चल्दा पार्टीले गरेको निर्णयलाई म स्वीकार्छु,’ अधिकारीले धनगढीखबरसँग भनिन्, ‘ अब मेरो उपमेयरमा सम्भावना हुनसक्छ। अहिलेसम्म नाम आधिकारिक आएको छैन। पार्टीको केन्द्र र प्रदेश कमिटिले के भन्नुहुन्छ, त्यो अनुसारको पद मलाई स्वीकार्य छ। उपमेयरमा टिकट पाए भनेपनि ममाथि न्याय पनि हुन्छ। पार्टीले अन्याय पनि नगर्ला।’

मेयर रुपमा आकांक्षा हुँदाहुँदै पनि भागबन्डामा आकांक्षा गरेको पद नपाउँदा दुख लागेको उनले बताइन। तर व्यक्ति र पदभन्दा ठूलो पार्टी मानेकाले उक्त निर्देशन मानेर अघि बढ्ने उनले बताइन।

‘अवश्यपनि दुख लाग्छ। मानसिक रुपमा एउटा व्यक्तिले एक खालको मेन्टालिटी बनाइसकेको हुन्छ,’ उनले भनिन्, ‘तर पार्टीभन्दा व्यक्ति ठूलो होइन। व्यक्ति र पदलाई भन्दा पनि पार्टीलाई ठूलो मानेकाले पार्टीको निर्देशन स्वीकार्छौ।’

उपमेयरका रुपमा माओवादी केन्द्रबाट सिफारिसमा परेका बलबहादुर ऐरले भने सकेसम्म पार्टीले आफूहरुलाई नै टिकट देओस भन्ने इच्छा व्यक्त गरे। उनले बैठक बसेर पार्टीको हितअनुसार निर्णय गर्नुपर्ने बताए।

‘शान्ति जीलाई छोड्ने कि हाम्रो अडान कायम रहने विषयमा पार्टीको बैठक बस्छ। मेयरमा उहाँको नाम नहुने भएर उपमेयरमा ल्याउने भए हामीलाई वडाअध्यक्ष दिनुपर्यो,’ ऐरले भने, ‘अहिले हामीले छोड्ने कुरा भएको छैन। पाए उपमेयरमै लड्ने हो। पार्टीको बैठक बसोस, पार्टीको हितको पक्षमा निर्णय हुन्छ भन्ने विश्वास छ।’