कैलालीमा कांग्रेसका वडा सभापतिसहित ९१ जनाद्धारा सामूहिक राजीनामा

कैलालीमा कांग्रेसका वडा सभापतिसहित ९१ जनाद्धारा सामूहिक राजीनामा

धनगढी । कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका वडा सभापतिसहितका ९१ जना क्रियाशिल सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशिल सदस्यहरुले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

‘विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटिका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशिल सदस्यबाट राजीनामा दिदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

सामूहिक राजीनामा दिनेहरुमा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रिय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्का लगायतका नेता कार्यकर्ता रहेका छन् ।गठबन्धनको निर्णय अनुसार सत्तारुढ गठबन्धनका तर्फबाट सो वडामा नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ ।