स्थानीय तह निर्वाचन : उम्मेदवार दर्ता संख्या १ लाख ४४ हजार पुग्यो

स्थानीय तह निर्वाचन : उम्मेदवार दर्ता संख्या १ लाख ४४ हजार पुग्यो

स्थानीय तहको लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयन संख्या १ लाख ४४ हजार नाघेको छ । निर्वाचन आयोगले मंगलबार साढे १२ बजेसम्म मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको हो ।

प्रणालीमा प्रविष्ट भएको आधारमा मंगलबार साढे १२ बजेसम्म १ लाख ४४ हजार चार सय १६ जना पुगेको आयोगले जनाएको छ ।

आयोगले ३ हजार तीन सय ७५ जनाले महानगर, उपमहानगर र नगरपालिका प्रमुख, ३ हजार तीन सय ३४ जनाले गाउँपालिका अध्यक्ष, २ हजार ६९ जनाले नगरपालिका उपप्रमुख र २ हजार तीन सय ६४ जनाले गाउँपालिका उपाध्यक्षमा मनोनयन दर्ता गरेको जनाएको छ ।

त्यस्तै, वडा अध्यक्षमा मनोनयन गर्नेको संख्या ३३ हजार सात सय ९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडामा महिला सदस्यको संख्या २४ हजार सात सय ९२, दलित महिला सदस्यको उम्मेदवारी संख्या २२ हजार चार सय ४०, सदस्य संख्या ५२ हजार दुई सय ५४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ताको विवरण अझै आइरहेकोले यो संख्या बढ्नसक्ने आयोगले जनाएको छ ।