कोरियन भाषा परीक्षाको समयतालिका परिवर्तन

कोरियन भाषा परीक्षाको समयतालिका परिवर्तन

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाको कार्यक्रम पछाडि सरेको छ ।

यसअघि भाषा परीक्षा वैशाख २६ गतेदेखि हुने भनिएकामा अब जेठ १५ गतेदेखि सुरु हुनेगरी कार्यतालिका परिवर्तन गरिएको हो । ईपीएस कोरिया शाखाका निर्देशक पुुष्पराज कटुुवालले ईपीएसको रोजगारीमा जानेको कोरिया भाषाको परीक्षा स्थानीय निर्वाचनका कारण २० दिनपछि सारिएको बताए । कोरियाको मानव संसाधन विभाग एचआरडी सँगको सल्लाह लिएर नै परीक्षा सारिएको उनले बताए । 

यही चैत १४ देखि २१ गतेसम्म ईपीएसमार्फत कोरिया जानका लागि आवेदन दिएकाहरूले पहिलो र दोस्रो चरणका भाषा र सीप परीक्षा वैशाख २६ देखि असोज २१ गतेसम्म सञ्चालन गर्ने तय भएको थियो । अब जेठ १५ गतेदेखि कात्तिकको पहिलो सातासम्म सञ्चालन गर्न सकिने भएको छ । 

ईपीएस शाखाका अनुसार सन् २०२२ मा नौ हजार सन् २०२२ का कृषि तथा पशुपालन क्षेत्रमा दुुई हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा छ हजार ९१३ नेपाली लैजाने गरी नौ हजार ६५४ जनाका लागि आवेदन माग आएकामा करिब ४४ हजारको आवेदन परेको छ । 

कोरियन भाषा परीक्षामा विगतमा नयाँका लागि पीबीटी पेपरबेस टेस्ट र कोरियाबाट फर्केकाका लागि सीबीटी कम्प्युटरबेस टेस्ट गरिँदै आएकामा अब यूबीटी युबिक्युट्सबेस टेस्ट प्रणालीबाट लिइनेछ । यो प्रणालीमा प्रत्येक परीक्षार्थीलाई कम्प्युटरको सट्टा ट्याब्लेटबाट परीक्षा लिइनेछ । भाषा परीक्षाका लागि परेको आवेदनका आधारमा एक सिफ्टमा दुई सय जनाका दरले दिनमा चार सिफ्ट परीक्षा सञ्चालन गरेर दिनमा अधिकतम आठ सय जनाले परीक्षा दिने व्यवस्था मिलाइएको छ । शाखाले भैँसेपाटीमा रहेको दक्षिण कोरिया मानव संसाधन विभाग एचआरडी को कोरिया भाषा केन्द्रलाई तयारी अवस्थामा राखेको छ । 

सन् २००८ देखि बर्सेनि सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा कोरोना सङ्क्रमणका कारण पछिल्लो दुुई वर्ष हुन सकेन । ईपीएसअन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत छन् । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।