धनगढीमा रुखका जरा उखेलिनेछन्, टुसा नष्ट पारिनेछन् र सुर्य उदाउनेछ : पूर्व मन्त्री राना

धनगढीमा रुखका जरा उखेलिनेछन्, टुसा नष्ट पारिनेछन् र सुर्य उदाउनेछ : पूर्व मन्त्री राना

धनगढी। पूर्व मन्त्री तथा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य नारदमुनुी रानाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पत्तासाप हुने बताएका छन् । धनगढी उपमहानगरपालिका–१८ मा आयोजित वडास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पोलिटब्युुरो सदस्य तथा कैलाली ईन्चार्ज समेत रहेका रानाले एमालेको शक्ति देखेर कांग्रेसले अन्य दलसँग गठबन्धन गरेकोले नगरबासीले भने रुखका जराहरु उखेलिदिने बताए । 

‘रुख जरादेखि नै सुकिसकेको छ । कलम र हसियाँ हतौडाको साहारा लिएर त्यसलाई हरियो फर्काउने प्रयत्न भइरहेको छ । तर त्यो कुुनै हालतमा सम्भव छैन किनभने कलममा भोट नभएर मुसी हाल्नुुपर्छ, हसियाँले रुखका जरा काटिन्छन्,’ रानाले भने, ‘बैशाख ३० सम्म बाँकी रहेका जराहरुलाई उखेलेर फाल्ने काम नगरबासीले गर्नेछन् । जसरी पनि ती जरा उखेलिनेछन् । सुर्य उदाउनेछ ।’

एकीकृत समाजवादी पार्टीलाई अवसरवादीहरुको समूह भएको भन्दै रानाले बैशाख ३० को सुर्यको रापले कलमको मसी सुकेर सकिने बताए । ‘एमालेको सुर्य चिन्ह लिएर चुनाव लड्ने, साुंसद बन्ने, मन्त्री बन्ने, अहिले चाँही अर्को पार्टी खोल्नेहरुलाई हामी गद्दार भन्छौँ । गद्दाहरुलाई जनताले चिन्नुुपर्नेछ,’ उनले भने । 

उनले धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई इंगित गर्दै स्वतन्त्रका नाममा केही टुसाहरु पलाइरहेको सुुनेको उल्लेख गर्दै ती टुसाहरु नउम्रिदै नष्ट पारिदिने चेतावनी दिए । ‘धनगढीको विकास गर्ने नाममा स्वतन्त्र व्यक्ति भन्दै भोट मागेको पनि मैले सुुनेको छु । जसको भुुई र टुप्पो छैन त्यस्ताहरुको के भरोसा,’ रानाले भने, ‘स्वतन्त्रका नाममा पलाइरहेका टुसाहरु हामी नष्ट पारिदिनेछौँ । त्यसैले डाक्टर हो भने बिरामीको उपचार गर्नुस् । व्यापारी हो् भने व्यापर गर्नुस् ।’ 

धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर समेत रहेका कांग्रेसका मेयर पदका उम्मेदवार नृपबहादुर वडले पाँच वर्षमा बजेट वितरणमा समेत एकलौटी गरेका कारण यहाँ विकास नभएको बताएका रानाले आसेपासेलाई मात्र पोस्ने काम भएको बताएका छन् । उनले वडले पदबाट राजीनामा दिइसकेको अवस्थामा समेत उपमहानगरपाकिालाई नेपाली कांग्रेसको सम्पर्क पार्टी कार्यालयका रुपमा प्रयोग गरिरहेकोले विथेति रोक्न अगामी स्थानीय निर्वाचनमा सुर्य चिन्हमा भोट हाल्नुुको विकल्प नभएको बताए । 

चुनावी प्रचारप्रसार। कार्यकर्ता र मतदाता भेटघाटलाई तिव्र बनाएको नेकपा एमालेले शुुक्रबार धनगढी उपमहानगरपालिका–१४, १८ र १९ मा अभियान सम्पन्न गरेको छ । उक्त अभियानका अवसरमा आयोजना गरिएका भेलाहरुलाई एमाले कैलालीकी सहइन्चार्ज लिला भण्डारी, नेत्री सन्तोशकुुमारी शर्मा थापा, प्रदेश कमिटि सदस्य राजेश खाती, धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार रणबहादुर चन्द, उपमेयर पदका उम्मेदवार कन्दकला राना लगायतका नेताले सम्बोधन गरेका थिए । 

अभियान अन्तरगत शनिबार पनि विभिन्न स्थानमा कार्यकर्ता भेटघाट कार्यक्रम तय भएको एमालेले जनाएको छ ।