स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । शनिबार बिहान २ः४० बजेको समयमा माछापोखरी कुमारीस्थानस्थित सडकखण्डमा  शङ्कास्पद  रूपमा हिँडिरहेका अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका वडा नं. ११ घर भई हाल जिल्ला तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर जादवको साथबाट नगद फेला पारेको थियो ।

उनीहरूलाई उक्त नगदसहित नियन्त्रणमा लिइएको र घटनाको सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता दिनेश राज मैनालीले जानकारी दिएका छन् ।