"पटक पटक त्याग गरे, पार्टी बचाउन एक पटक फेरि पछि हटे" : वडाअध्यक्ष पदका उम्मेदवार देउवा

"पटक पटक त्याग गरे, पार्टी बचाउन एक पटक फेरि पछि हटे" : वडाअध्यक्ष पदका उम्मेदवार देउवा

डडेल्धुरा । नेपाली काङ्ग्रेस आलितालका नेता तथा आसन्न निर्वाचनमा वडा नम्बर ८ बाट  अध्यक्ष पदका लागी चुनावी मैदानमा उत्रिएका धन बहादुर देउवाले पार्टी बचाउन आफू गाउँपालिकाको अध्यक्ष पदबाट पछि हटेको बताएका छ्न।   आलिताल गाउपालिकाको अध्यक्ष पदका लागी आकाङ्क्षी देखिएका देउवाको निकै चर्चा समेत भएको थियो। उनले सामाजिक संजालमा लेख्दै पार्टी हितका लागि  पटक पटक आफुले त्याग गर्दै आएको र कुनै पनि हालतमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्नका लागी पछि नहट्ने बताएका थिए।

१२ वर्ष शिक्षण पेसामा आवद्ध रहि समाजसेवामा पनि उत्तिकै सकृय रहेका देउवा वि.सं.२०७४ सालमा पनि गाउँपालिकाको अध्यक्ष पदका आकाङ्क्षी थिए। तर उनलाई पाँच वर्ष पछि गाउँपालिका अध्यक्ष पदका लागि टिकट दिने आश्वासन दिइएको उनले बताए।

 "पार्टी फुटे अरुले फाइदा लिन्छ, पार्टी बचाउन र पार्टीकै हितका लागि मैले पछि हट्नु पर्ने अवस्था आयो।" उनले धनगढी खबर संगको कुराकानीमा भने;" बिद्रोह गर्न सकिन्थ्यो तर त्यो कसैको पनि हितमा छैन। पटक पटक त्याग गरेको छु, पार्टीले सहि मुल्यांकन गरोस भन्ने बिश्वास राखेको छु।"

अहिले देउवा आलिताल गाउँपालिका वडा न.८ बाट वडा अध्यक्ष पदका उम्मेदवार रहेका छ्न। उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा शिक्षक पेसाबाट राजिनामा दिई वडा सदस्य पदमा जितेका थिए। उनले वडा सदस्य रहदा पनि सक्रिय भएर जनताका पीडा सुन्ने बुझ्ने र उनिहरुलाई उचित समाधान दिदै आएको पाइन्छ।  
 उनी भन्छ्न;"मलाई मतदिने मतदाताहरुको बिश्वास काम गरेर जितेको छु, ठुलाठुला सपनाहरु केही बाडेको छैन तर निरन्तर जनताहरु सङ्गै उनिहरुकै हकहितका लागि काम गरिरहेको छु। "
 
उनले जनताको सेवा गर्न कुनै पद आवस्यक नभएको र नियत सफा राखेर कर्म गर्नुपर्ने समेत बताए। 
उनले आफु निरन्तर रुपमा सामाजिक कार्यहरुमा अग्रसर रहेको र आफ्नो उम्मेदवारी  वडा भित्रका सबै पार्टीका सबै जनताहरु संगै हातेमालो गरेर वडाको विकास गर्न मात्रै रहेको बताएका छ्न।

उनले वडा नम्बर ८ मा वडा सदस्य जितेर काम गर्दा पनि थुप्रै काम हरु गरेको बताएका छ्न। उनी भन्छ्न;"अरुले दिने ठुलाठुला झुटा आश्वासनहरु भन्दा  प्रत्येक सडकहरु स्तरोन्नति गर्ने, खानेपानीको समस्याको दीर्घकालीन समाधान खोज्ने  र शिक्षा क्षेत्रमा भएका हरेक समस्या हरुलाई समाधानको बाटोमा लग्ने मेरा प्रमुख योजनाहरु रहेका छन।"

वडा नम्बर ८ बाट चुनाव लड्दा आफुलाई कुनै चुनौती नरहेको समेत उनले बताएका छ्न। चुनावका बेला मात्रै गाउँ गाउँ छिर्ने र ठुलाठुला झुटा आश्वासन बाड्नेहरुलाई जनताले चिनेको र जनताले नै उचित मुल्यांकन गरेर मतदान गर्ने उनले बताए।  
देउवाले वडाबासीहरु लाई आफ्नो विवेक पुर्याएर मतदान गर्न समेत आग्रह गरेका छ्न।