धनगढीको मेयर पदका उम्मेदवार वडलाई आचार संहिता उल्लघंन गरेको भन्दै आयोगले गरायो सचेत

धनगढीको मेयर पदका उम्मेदवार वडलाई आचार संहिता उल्लघंन गरेको भन्दै आयोगले गरायो सचेत

धनगढी । कैलालीमा यही वैशाख ३० गते हुन गइरहेको निर्वाचन आचारसंहिता पालना र भाषाको प्रयोगबारे सरोकारवालाहरू सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । शनिवार सुदूरपश्चिम प्रदेश संवाद समूहले राजनीतिक दल, निर्वाचन आयोगका पदाधिकारी, गैर सरकारी संस्था लगायत सरोकारवाला निकायसँग सो अन्तरक्रिया गरेको हो । 

अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस एवम् गठबन्धनका तर्फबाट धनगढी उप-महानगरपालिकाका मेयर पदका उम्मेदवार नृप ब. वडले निर्वाचन आचारसंहिता उलङ्घन गरेको र पहिलो पटक सचेत गराइएको जनाइएको छ । 

धनगढी उप-महानगरको मेयरमा दोस्रो पटक दोहोरिन लागेका वडले आफ्नो चुनावी प्रचार-प्रसारका क्रममा निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता उलङ्घन गर्दै इ-रिक्सा लगायतका सवारी साधनहरूमा (ए-फोर) साइजको भन्दा ठुलो प्रचार सामग्री पोस्टर राखी प्रयोग गरिएको बारे फोटो सहित समाचार प्रकाशन र सामाजिक सञ्जालमा आलोचना भएको विषयमा हभागीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै निर्वाचन आयोगले सो विषयमा नियम अनुसार पहिलो पटक त्यस्तो कार्य न दोहोर्‍याउन र निर्वाचन आचारसंहिता उलङ्घन हुने कार्य गरेको पाइएमा नगद जरिवाना लगायताका अन्य कानुनमा व्यवस्था भए अनुसारको कारबाही गरिने भनी सचेत गराएको जनाएको हो । 

सोही कार्यक्रममा सहभागी नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले पनि आफ्नो पार्टीका धनगढी उप-महानगरका मेयर पदका उम्मेदवार नृप ब. वडको प्रचार प्रसारका क्रममा ए फोर साइज भन्दा ठुला पम्प लेट सहित बजारमा प्रदर्शन गरेको र सो कार्य गर्दा आचार संहिता उल्लङ्घन भएको स्विकार्दै अव उप्रान्त नदोहोरिने बताएका छन् । “तपाइहरूले अङ्कित गरेको कुरा माथि पनि केही क्लियर गरिदिन्छु । हाम्रो पार्टीका धनगढी उप-महानगरका उम्मेदवारको प्रचारका क्रममा सो कार्य भएको पाइएको हो । अहिले हामीले सच्याई सकेका छौँ । हटाउन लगाएका छौँ । अब त्यस्तो कार्य दोहोरिँदैन । कतै त्यस्तो पाउनु भएमा हामीलाई जानकारी गराई दिनुहोला । बढी कार्यकर्ता भएको र यो गठबन्धन भएर कहाँ कसले के-के गर्दै छन् ? भन्ने कुरा हेर्न समस्या भइरहेको छ । अब देखी निर्वाचन आचारसंहिता उलङ्घन हुन दिइने छैन । हाम्रो पार्टीको तर्फबाट म प्रतिबद्धता जनाउँद छु ।” उनले भने । 

सबै उम्मेदवार र कार्यकर्तालाई निर्वाचन आचारसंहिताको पालना गर्न निर्देशन दिएको पिन सुनारको भनाई थियो । 

यस्तै, राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले पनि आफ्नो पार्टी राजनीतिमा सधैँ इमानदार हुँदै आएको बताए । ‘यस अघिका निर्वाचनमा पनि जनमोर्चाले कहिल्यै निर्वाचन आचारसंहिता विपरीत काम गरेन,’ उनले भने, ‘आगामी दिनमा पनि त्यस प्रति हामी सचेत छौँ, आचारसंहिता विपरीतका क्रियाकला सधैँ ठुला पार्टी, काँग्रेस, एमाले, माओवादी बाट हुने गरेका छन् ।’

त्यस्तै, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य आर.सी यादवले भने आचारसंहिता विपरीत काम गर्ने उम्मेदवार तथा राजनीतिक दललाई कारबाही गर्न आग्रह गरे । उनले आचारसंहिता विपरीत काम गर्ने उम्मेदवार तथा दलका कार्यकर्ता विरुद्ध उजुरी आएपछि त्यसको सत्य तथ्य छानबिन गरी कारबाही गर्न निर्वाचन आयोग तयार हुनुपर्ने बताए । तर उजुरी दिने व्यक्तिको पहिचान भने गोप्य राखिनु पर्नेमा उनले जोड दिए । ‘एसएलसीमा मैले विद्यालयको निरीक्षण गरेपछि केही शिक्षकका विरुद्ध जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएको थिएँ । त्यहाँ शिक्षक विरुद्ध छानबिन हुनेको सट्टा उल्टै आर.सी यादवले उजुरी दिएको छ । भनेर प्रचार भएछ,’ उनले भने, ‘जसका कारण ती शिक्षक र मेरो अहिले सम्म पनि सम्बन्ध बिग्रेको छ, निर्वाचन आयोगमा उजुरी दिँदा पनि यस्तो नहोस्, उजुरी दिने व्यक्तिको पहिचान गोप्य राखियोस् ।’

यस्तै, एकीकृत समाजवादी पार्टीका कैलाली अध्यक्ष भैरव रावलले पनि निर्वाचन आचारसंहिताको पालना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । सबै उम्मेदवारलाई आचारसंहिताका बारेमा जानकारी गराएको भन्दै उनले चुनावी प्रचारका क्रममा कहीँ कतै हुन सक्ने गल्तीका बारेमा आफूहरू संवेदनशील रहेको बताए ।

त्यस्तै, कार्यक्रममा अनौपचारिक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमका प्रदेश संयोजक खडकराज जोशीले पनि राजनीतिक दल मात्र नभई आम मतदाता पनि निर्वाचनको समयमा आचार संहिताका विषयमा प्रतिबद्ध हुनु पर्ने बताए । आचारसंहिताको उल्लङ्घन गर्ने जो कोहीलाई पनि कारबाही गर्ने भन्दै मापदण्ड जारी गरिएको भए पनि त्यसको कार्यान्वयन नभएको उनको भनाई छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई ठाउँको ठाउँ कारबाही गरेको खण्डमा यस्ता गतिविधि न्यूनीकरण हुन सक्ने जोशीको तर्क छ । 

यस्तै, पत्रकार समीर भट्टले पनि दलहरूले मापदण्ड भन्दा ठुलो पोस्टर सार्वजनिक तायाताका साधनमा टाँगेर आचार संहिता विपरीत काम गरेको भन्दै त्यसलाई रोक्न निर्वाचन कार्यालय सँग माग गरेका थिए ।

त्यस्तै, कार्यक्रममा बोल्नै कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुन अनुसार कारबाही गरिने बताए । तर आचारसंहिता उल्लङ्घन गरेको प्रमाण भने निर्वाचन कार्यालयमा बुझाई उजुरी दिनु पर्ने उनले बताए । ‘अनुगमन गर्न जाने हामी सँग जनशक्ति नै छैन,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘कसैले प्रमाण सहित उजुरी दिएमा हामी छानबिन गरी आवश्यक कारबाही गर्ने छौँ ।’ 

उनले, सार्वजनिक सवारीमा मापदण्ड भन्दा ठुलो आकारका पोस्टर बनाइको विषय निर्वाचन कार्यालयमा पुगेको र सम्बन्धित उम्मेदवारलाई त्यस्ता पोस्टर, पम्प लेट हटाउन आग्रह गरिएको बताए । पहिलो पटक हामी उम्मेदवारलाई सम्झाई बुझाई गर्ने छौँ,’ उनले भने, ‘तर दोहोर्‍याएर कसैले आचारसंहिता विपरीतका काम गर्छ भने नियम विपरीत कारबाही हुने छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले चुनावका वेला उम्मेदवारले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । भने  कार्यक्रममा सहजीकरण संवाद समूहका प्रदेश सहजकर्ता कर्ण शाहले गरेका थिए ।