कैलालीमा गठबन्धने भन्यो, 'उम्मेदवारी फिर्ता नभएका यी ८ जना आधिकारिक उम्मेदवार हैनन्'

कैलालीमा गठबन्धने भन्यो, 'उम्मेदवारी फिर्ता नभएका यी ८ जना आधिकारिक उम्मेदवार हैनन्'

धनगढी । कैलालीमा गठबन्धन दलहरूले प्राविधिक कारण उम्मेदवारी फिर्ता हुन नसकेका उम्मेदवारहरू लाई आधिकारिक उम्मेदवार नमान्ने घोषणा गरेको छ।  

जिल्लामा चुनावी तालमेल गरेका नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले २०७९ वैशाख ११ गते बसेको बैठकको मर्मलाई आत्मसाथ गर्दै समझदारी अनुरूप आफ्ना आठ जना उम्मेदवार आधिकारिक नरहेको जानकारी गराएको हो ।

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा  गठबन्धन दलहरूको निर्णय अनुरूप नै आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियता पूर्वक गठबन्धन दलका उम्मेदवारहरूलाई पालिका तहमा सघाउन अपिल गरेको छ । भने  राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पार्टी सँग वडा तहमा मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ । 

यही वैशाख ११ गते बसेको बैठकमा भएको समझदारी अनुरूप उम्मेदवारी फिर्ता लिने समय अपुग भएको ठाउँमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी को गठबन्धन निरन्तर रहेको कुरा सम्पूर्ण कार्यकर्ता बिच जानकारी गराएको गठबन्धनले नेकपा एकीकृत समाजवादी चुरे गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार कृष्ण कुमार खत्री, नेपाली काँग्रेसले कैलारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राज समझ चौधरी, जोशीपुर गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार किरण चौधरी र नेकपा माओवादी केन्द्रका चुरे गाउँपालिका अध्यक्ष पदका उम्मेदवार टेक बहादुर रजबार, उपाध्यक्ष पदका उम्मेदवार डिला सिजापति लाई आधिकारिक उम्मेदवार नरहेको गठबन्धनका तर्फबाट नेपाली काँग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र नेकपा एस का केद्रिय सदस्य तथा इन्चार्ज दीर्घ सोडारी द्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस्तै, नेकपा माओवादी केन्द्रकै कैलारी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मी सत्गौवा थारु, गोदावरी नगरपालिकाका मेयर पदका उम्मेदवार विक्रम विश्वकर्मा र उप प्रमुख रिमा खड्का पनि आधिकारिक उम्मेदवार नभएको जनाएको छ । 

त्यस्तै, गठबन्धन दलहरूले निर्णय पालना नगर्नेलाई आ-आफ्ना दलले कारबाही गर्ने निर्णय समेत गरेको तिनैदलका नेताहरुले स्पष्ट पारेका छन् । 

दलहरूले विभिन्न राजनैतिक परिवर्तनहरूबाट प्राप्त उपलब्धिहरू लोकतान्त्रिक संविधान, सङ्घीय लोकतान्त्रिक व्यवस्था समावेशी शासन प्रणालीको संस्थागत विकास, संविधानको सफल कार्यान्वयन गर्न, संविधान र सङ्घीय व्यवस्थालाई नै असफल पार्ने प्रवृत्ति र प्रतिगमनलाई निस्तेज गरी मुलुकलाई दिगो विकास, स्थायी शान्ति, समृद्ध मुलुक बनाउन केन्द्रीय गठबन्धनको मर्म अनुसार स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न सहमत भएको समेत स्पट पारेका छन् ।