भारत र चीनमा कोरोना संक्रमण दर बढ्दै

भारत र चीनमा कोरोना संक्रमण दर बढ्दै

भारत र चीनमा कोभिड संक्रमण बढ्न थालेको छ । चीनमा गत मार्च दोस्रो सातादेखि नै निरन्तर संक्रमण बढिरहे पनि भारतमा केही दिनयता संक्रमण तीव्र बढेको छ । भारतमा दैनिक संक्रमण पुनः तीन हजारको हाराहारीमा पुगेको छ । चीनमा यो साताको औसत संक्रमण दर २६ हजारभन्दा बढी छ । 

भारतमा गत २४ घन्टामा दुई हजार पाँच सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा आइतबार तीन हजार एक सय ५७, शनिबार तीन हजार ६ सय ८८, शुक्रबार तीन हजार तीन सय ७७ र बिहीबार तीन हजार तीन सय तीनजनामा संक्रमण देखिएको थियो ।

हाल सबैभन्दा धेरै संक्रमण दिल्लीमा देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर दैनिक देखिने संक्रमणको करिब ४२ प्रतिशतभन्दा बढी संक्रमित दिल्लीमा मात्र देखिएको हो । संक्रमण घट्दै गएपछि तत्कालका लागि जोखिम हट्दै गएको बताइए पनि पुनः बढ्ने संक्रमणले अर्को लहरको संकेत गरेको विज्ञहरूले बताएका छन् । मन्त्रालयको तथ्यांकअनुसार हाल देशभर १९ हजार एक सय ३७ सक्रिय संक्रमित छन् । 

शून्य कोभिड नीति लिएको चीनमा संक्रमण बढेका कारण २६ मुख्य सहरमा लकडाउन गरिएको छ । साथै, देशभर मुख्य पर्वको रूपमा मनाइने मे दिवससमेत कोभिडका कारण प्रभावित भएको छ । अत्यधिक संक्रमण देखिएका सहरमा मे दिवसका लागि दिइने बिदासमेत रोकिएको जनाइएको छ । मे दिवसको रूपमा गरिने सार्वजनिक कार्यक्रमसमेत सबै रद्द गरिएको छ । 

चीनमा सोमबार १९ हजार नौ सय ९१ जनामा संक्रमण देखिएको छ । आवर वल्र्ड इन डाटाको तथ्यांकअनुसार आइतबार ५० हजार पाँच सय सातजनामा संक्रमण देखिएको थियो ।