कांग्रेसका प्रतिनिधि माओवादी कार्यकर्ताबाट कुटिए, करङ भाँच्चिएको र टाउकोमा गहिरो चोट...

कांग्रेसका प्रतिनिधि माओवादी कार्यकर्ताबाट कुटिए, करङ भाँच्चिएको र टाउकोमा गहिरो चोट...

सिन्धुपाल्चोक। बलेफी गाउँपालिकाको वडा ५ बिन्जेलको आँपबोटमा भोटको विषयलाई लिएर विवाद हुँदा माओवादी केन्द्रका कार्यकर्ताद्वारा कांग्रेसका वडा प्रतिनिधिसहितका युवाहरु कुटिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन ०७९ नजिकिँदै गर्दा बिहीबार बेलुकी नौ बजे घरदैलो अभियान सकेर घर फर्किएका बलेफी गाउँपालिका वडा ५ का वडा प्रतिनिधि कुमार तामाङसहित चार जनामाथि कुटपिट भएको हो ।

जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतकाअनुसार जानकारी आएलगत्तै प्रहरी पुगेको र घटनाबारे आवश्यक छलफल गर्न दुवै पक्षलाई बोलाइएको छ । कुटपिटबाट चार घाइतेमध्ये वडा प्रतिनिधि तामाङको अवस्था गम्भीर रहेको र अधिकांशको टाउको, हात र ढाडमा गहिरो चोट लागेको देखिएको छ ।

दुवै समूहको पक्षमा के कसरी झडप भएको भन्नेबारे आवश्यक अनुसन्धान सुरु गरिएको र यस्ता गतिविधि हुन नदिन सुरक्षाकर्मी सक्रिय रहेको उनले उल्लेख गरे ।

कुमारसहित घाइते खड्गबहादुर तामाङ, बयान तामाङ र सुवास तामाङको बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यकर्मीले बोतल, ढुंगाको प्रहारले कुमारको करङ भाँच्चिएको र बाँकी तीनै जनाको टाउकोमा गहिरो चोट लागेको बताएको कांग्रेस बलेफी गाउँपालिका सभापति रामकुमार तामाङले बताए । माओवादी केन्द्रका वाईसिएल फोर्सबाट योजनाबद्ध ढंगले गरिएको सामूहिक आक्रमणले घाइते चार जनामध्ये एकको अवस्था गम्भीर देखिएको उनले आरोप लगाए ।

यसबारे माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले भने आचारसंहिताको विषयलाई लिएर सामान्य विवाद मात्रै भएको पाइएको बताए । माओवादी केन्द्रका कार्यकर्ता भने कोही पनि घाइते नभएको उनले जनाए ।