रुसी आक्रमणबाट ४ सय स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी

रुसी आक्रमणबाट ४ सय स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी

युक्रेनमा रुसी आक्रमणका कारण ४ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरू ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

एउटा गैर नाफामूलक संस्थालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसी आक्रमणबाट हालसम्म ४०० भन्दा धेरै अस्पताल, प्रसूति गृह, बहिरङ्ग केन्द्र जस्ता स्वास्थ्य संस्थाहरू ध्वस्त भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणका कारण औषधिको अभाव समेत देखिएको उनको भनाइ छ । खासगरी पूर्वी तथा दक्षिणी युक्रेनमा यस्तो समस्या देखिएको उनले बताए ।

पूर्वी तथा दक्षिणी युक्रेनमा लडाइ भइरहेका स्थानमा सामान्य एन्टी बायोटिक औषधिको समेत अभाव रहेको उनको भनाइ छ । यसबाहेक उनले बताएअनुसार रुसी फौजको अधीनमा रहेका क्षेत्रमा अवस्था अझ गम्भीर छ ।

यसअघि गत मार्च ९ मा रुसी फौजले चौतर्फी घेराबन्दीमा परेको शहर मारिउपोलस्थित बाल अस्पतालमा आक्रमण गरेपछि रुसको चर्को आलोचना भएको थियो ।