आज कैलाली सहित तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व धुमधामका साथ मनाइँदै

आज कैलाली सहित तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व धुमधामका साथ  मनाइँदै

कैलाली : आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसीयाली  प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ ।

पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा  रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको छ । होलीको अवसरमा सरकारले बिहिवार तराईका जिल्लामा सार्वजानिक विदा दिएको छ ।