स्थानीय तह निर्वाचन : धनगढीमा त्रिपक्षीय भीडन्त, कसले मार्ला बाजी ?

स्थानीय तह निर्वाचन : धनगढीमा त्रिपक्षीय भीडन्त, कसले मार्ला बाजी ?

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा यतिबेला चुनावी तापमान बढ्दै गएको छ । प्रदेशको अस्थायी राजधानीसमेत भएकाले सबैको ध्यान धनगढीमा केन्द्रित छ ।

यस उपमहानगरपालिकामा प्रमुखका लागि सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रणबहादुर चन्द, राष्ट्रिय जनता पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्त विश्वकर्मा चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापासहित स्वतन्त्रबाट गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्त चुनावी मैदानमा छन् । दलीय पकडमा रहेको यस उपमहानगरपालिकामा यस पटक भने त्रिपक्षीय प्रतिस्पर्धा हुने अधिकांशको आँकलन छ । विगतको निर्वाचन नतिजालाई हेर्ने हो भने पनि नेपाली काँग्रेस, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच नै त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै नेपाली काँग्रेसले जितेको थियो । काँग्रेसबाट पूर्वप्रमुख नृपबहादुर वड यस पटक फेरि उम्मेदवार छन् । अघिल्लो पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हमाललाई दुई हजार ७९५ मतान्तरले पराजित गरी वड प्रमुखमा विजयी भएका थिए । 

वडले १४ हजार ३२४ मत प्राप्त गर्नुभएको थियो भने पराजित हमालले ११ हजार ५२७ प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार तेस्रो र नेकपा (एमाले) का उम्मेदवारले चौथो स्थान प्राप्त गरेको थियो । अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा आएको माओवादी गठबन्धन गरेर यस पटक काँग्रेसको सहयात्री बनेका कारण पनि वड चुनाव जित्नेमा ढुक्क देखिएका छन् ।

यद्यपि, उनलाई नेकपा (एमाले) का उम्मेदवार चन्दबाट मात्रै नभई, स्वतन्त्र उम्मेदवार हमालबाट पनि विरासत जोगाउन चुनौती छ । निर्वाचन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकाको मतदाता सङ्ख्या ९३ हजार १५१  छ ।