दार्चुलाको छाङ्गरु र तिंकरमा हेलिकप्टर मार्फत निर्वाचन सामग्री ढुवानी हुने

दार्चुलाको छाङ्गरु र तिंकरमा हेलिकप्टर मार्फत निर्वाचन सामग्री ढुवानी हुने

दार्चुला ।  हिमाली जिल्ला दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका—१ मा रहेका छाङ्गरु र तिंकरको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामग्री ढुवानी गर्न लागेको हो । 

नेपाली भूमीबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु पु¥याउन लागिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

सोमवार नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकरको मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइने उनले बताए । 

छाङ्गरुको कैलाशपति आवि केन्द्रमा ३७५ र तिंकरको आवि मोति महिला संघ केन्द्रमा २३१ मतदाता रहेका छन् । सो क्षेत्रका बासिन्दाहरु वैशाख तेस्रो सातादेखि सदरमुकामबाट व्याँस उक्लन थालेका छन् । 

जिल्लाका ११० वटा मतदानस्थल र १३९ मतदान केन्द्रहरुमध्ये ७० वटा मतदान केन्द्रहरुमा कर्मचारी र निर्वाचन सामाग्री पठाइ सकिएको जिल्ला निर्वाचन अधिकारी प्रदीप सिंह धामीले जानकारी दिए । जिल्लामा ८८ हजार २ सय १५ मतदाता रहेका छन् ।