कालापानी क्षेत्रका छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

कालापानी क्षेत्रका छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ मा रहेका छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि विकट मानिएको सो क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्रीसहित सुरक्षाकर्मी पठाइएको हो ।

नेपाली भूमीबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकप्टरमार्फत निर्वाचनका लागि चाहिने सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी पठाइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

निर्वाचनका लागि ८ जना कर्मचारी र ७ जना सुरक्षाकर्मी खटिएका छन् । छाङ्गरुको कैलाशपति आवि केन्द्रमा ३७५ र तिंकरको आवि मोति महिला संघ केन्द्रमा २३१ मतदाता रहेका छन् ।