प्रधानमन्त्री देउवाकै आमसभामै आचारसंहिताको धज्जी उडाइयो, भारतीय गाडीमा चारतारे झण्डा

प्रधानमन्त्री देउवाकै आमसभामै आचारसंहिताको धज्जी उडाइयो, भारतीय गाडीमा चारतारे झण्डा

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेको डडेल्धुरा बसपार्कको चुनावी आमसाभामै भारतीय गाडीको प्रयोग भएको छ। प्रधानमन्त्री देउवाले मंगलबार दिउँसो नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरे।

देउवा चुनावी सभा स्थल पुग्नु अगाडि भारतीय गाडी यहाँ आइपुगेको थियो। नेपाली कांग्रेस डडेल्धुराले बिहान १० बजे कार्यक्रम सुरु हुने भनेको थियो। तर, कार्यक्रम निर्धारित समयमा सुरु भएन। बसपार्कमा जम्मा भएका नेता–कार्यकर्तालाई मञ्चबाट एक बैंक नजिकै बेला हुन भनियो। त्यहाँ जिल्लास्तर नेता तथा कार्यकर्ता भेला भए।

त्यहाँ र्‍यालीको भयो। र्‍याली बाजागातासहित बसपार्कसम्म पुग्ने कार्यक्रम थियो। लक्ष्मी बैंक नजिकै नेता कार्यकर्ता देउवाको पर्खाइमा थियो। देउवा जिल्ला सदरमुकामबाट ६ किलोमिटर टाढा रातोगँरास रिसोर्टमा बसेका थिए। त्यहाँबाट देउवा आउन ढिलो भयो।

देउवा १२ बजेपछि मात्रै कार्यक्रक स्थल पुगे। तर, उनी आउनुभन्दा १५ मिनेट अगाडि भारतीय यूके ०३ टीए ०९८२ नम्बरको गाडी कांग्रेसको चार तारे झण्डा बोकेर आयो। सञ्चारकर्मी देखेपछि गाडी भित्र रहेका कांग्रेस कार्यकर्ताले झण्डा लुकाउन चालकलाई भने तर त्यतिभन्दासम्म पत्रकारले तस्वीर खिचिसकेका थिए।

यस गाडीलाई नेपाली कांग्रेसले आचारसंहिता विपरीत प्रयोग गर्दै आइरहेको छ। यहीँ गाडी केहीदिन अघि अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार र कार्यकर्ताले प्रयोग गरेका थिए।

निर्वाचनमा भारतीय नम्बरको गाडी प्रयोग गर्न पाइँदैन, यसरी प्रयोग भएको पाइमा आचारसंहिता उल्लंघन गरेको ठहर हुने निर्वाचन आयोगले जनाएको छ। तर, कांग्रेसले भारतीय गाडी प्रयोग गर्दासमेत यहाँको प्रहरी प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालय मौन रहेको स्थानीयको आरोप छ।