स्थानीय तह निर्वाचनः कैलालीमा मतदान र मतगणनास्थल तयार

स्थानीय तह निर्वाचनः कैलालीमा मतदान र मतगणनास्थल तयार

कैलाली।  कैलालीमा मतदान र मतगणनास्थलको तयारी पूरा भएको जनाइएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश जयानन्द पनेरुले स्थानीय तह निर्वाचनका लागि कैलाली जिल्लामा मतदान र मतगणना स्थलको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

मतदान र मतगणनाका लागि स्थानहरु छनौट भई सम्पूर्ण तयारी पूरा भएको छ। १३ वटा स्थानीय तह रहेको कैलालीमा २३६ मतदान स्थल कायम रहेका छन्। जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधबारै पुगिसकेका र मतदान केन्द्रमा तयारी सम्पन्न गरेका जानकारी दिए। कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र तोकिएका छन्। बिहान ७ बजे देखी मतदान सुरु हुनेछ । मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयमसेवक खटिएका छन्। कैलालीमा २३६ मतदान स्थल कायम छन्। जसमा ५२ वटा मतदानस्थललाई अति संवेदनशील, ५३ ओटा संवेदनशील र वाँकी १३१ मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ।

त्यस्तै कैलालीमा पाँच लाख २५ हजार १२५ मतदाता रहेका छन्। जसमा महिला दुई लाख ७९ हजार १०, पुरुष दुई लाख ५६ हजार १०४ र अन्य ११ रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । कैलालीमा सबैभन्दा बढी मतदाता धनगढी उपमहानगरपालिकामा रहेका छन् । यहाँ ९३ हजार १५१ मतदाता रहेका छन्।

यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता रहेका छन् । कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका छन् ।

त्यसैगरी, बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । धनगढी उपमहानगरपालिकाको मतगणना उपमहागरपालिकाकै नयाँ भवनमा गरिने मुख्य निर्वाचन अधिकृत पनेरुले बताए । उनले बुधबार बसेको सर्वदलिय बैठकले हस्तान्तरण हुन बाँकी रहेको उपमहानरपालिकाको नवनिर्मित भवनमै मतगणना गर्ने सहमती भएको बताउँदै सिसि क्यामेरा जडान लगायतका कामहरु सम्पन्न भएको बताए।

यस्तै,सुदूरपश्चिम प्रदेशमा स्थानिय तहको निर्वाचनलाई केन्द्रित गरी शुरक्षा ब्यवस्था चुस्त दुरुस्त पारिएको छ । प्रदेशका ३ सय २७ वटा मतदान केन्द्रलाई अति सम्बेदनशिल मानेर शुरक्षा ब्यवस्था कडा पारिएको हो। प्रदेशका ८८ वटा स्थानिय तहमा १ हजार १ सय ३५ मतदान केन्द्र र २ हजार १ सय ३ मतदान स्थल छन् । यी सबै मतदान केन्द्रमा ४ वटै शुरक्षा निकाय करिब २५ हजार सुरक्षाकर्मी परिचालन छन् ।

सुदूरपश्चिम प्रदेशमा १ उप महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकाका ७ सय ३६ वडा छन् । प्रदेशभर १ हजार १ सय ३५ मतदान स्थल मध्ये ३ सय २७ वटा अति सम्बेदनशिल, ४ सय ९० सम्बेदनशिल र ३ सय ९८ लाई सामान्यमा राखिएको छ । शुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी दोस्रोमा म्यादी प्रहरी, तेश्रोमा सशस्त्र प्रहरी र चौथोमा नेपाली सेना रहने छ ।

यस्तै राष्ट्रिय अनुसन्धानको टिमले सुचना सहजतामा सघाउने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका बरिष्ठ प्रहरी उपरिक्षक भोला रावलले जानकारी दिए। प्रदेशमा ६ हजार १ सय नेपाल प्रहरी, १० हजार १ सय म्यादी प्रहरी, ४ हजार सशस्त्र प्रहरी र करिब ५ हजार बढी नेपाली सेना खटिने जनाइएको छ । मतदानका दिन तथा मतगणनाका बेला हुन सक्ने बिवादलाई मध्यनजर गर्दै बिषेश शुरक्षा अपनाइएको छ। प्रदेशभर बैसाख ३० गते हुने निर्वाचनका लागी शुरक्षाकर्मी बाहेक ४ हजार बढी अन्य कर्मचारी खटिएका छन् । प्रदेशभर १६ लाख बढी मतदाता रहेका छन् ।