देशभरका ७ सय ५३ पालिकामा जनप्रतिनिधि चुन्न आज स्थानीय तहको दोस्रो ऐतिहासिक निर्वाचन हुँदै

देशभरका ७ सय ५३ पालिकामा जनप्रतिनिधि चुन्न आज स्थानीय तहको दोस्रो ऐतिहासिक निर्वाचन हुँदै

धनगढी । देशभरका ७ सय ५३ पालिकामा जनप्रतिनिधि चुन्न आज स्थानीय तहको दोस्रो ऐतिहासिक निर्वाचन हुँदै छ । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि दोस्रोपटक हुन लागेको स्थानीय तहआयोगका अनुसार निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् ।

जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमा गरी १० हजार ७ सय ५६ मतदान स्थल निर्धारण गरेको छ । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम छन् । ती मतदान स्थल र केन्द्रमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् ।

एक जना मतदाताले नगरपालिकाको हकमा नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको हकमा अध्यक्ष र उपाध्यक्षसहित वडाअध्यक्ष एवं चार जना वडा सदस्य गरी सात जनालाई आफ्नो मत प्रदान गर्न सक्छन् ।

निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी खटाएको छ । यस्तै, निर्वाचनमा ६५ हजार ८ सय ६५ स्वयंसेवक पनि खटिएका छन् भने निर्वाचनमा ५ हजार पर्यवेक्षकले पर्यवेक्षण गर्न अनुमति पाएका छन् ।

आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, बाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता छन् ।

निर्वाचनमार्फत तल्ला तहका सरकारका लागि नेतृत्व चयन हुने भएकाले यो निर्वाचनलाई जनता जनार्दन बनाउने निर्वाचनका रूपमा लिइन्छ । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि नेपालमा पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

आज हुने स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएको र विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको तथा निर्वाचनमार्फत विभिन्न पदमा गरी ३५ हजार २ सय २१ जना उम्मेदवार निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।