मदिराले मातेका वडा अध्यक्ष र हाकिमले दिए धनगढीका २ पत्रकारलाई ज्यान मार्ने धम्की

मदिराले मातेका वडा अध्यक्ष र हाकिमले दिए धनगढीका २ पत्रकारलाई ज्यान मार्ने धम्की

धनगढी । कैलालीमा दुई पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ । एभिन्युज टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हरिस विक र कैलाली जिल्ला सम्वाददाता राजन जैगडीलाई आइतबार ज्यान मार्ने धम्की आएको हो ।

नदीजन्य पदार्थको अवैध उत्खननको विषयमा समाचार सङ्कलनका लागी जिल्लाको घोडाघोडी नगरपालिकामा पुगेको एभिन्युज टेलिभिजनको टिममाथि दुर्व्यवहार गर्दै निवर्तमान अध्यक्ष हरि विष्ट सहितको समूहले ज्यान मार्ने धम्की दिएका हुन ।

‘नदीजन्य पदार्थको अवैध उत्खनन भएको छ भन्ने सूचनाका आधारमा समाचार सङ्कलनका लागी हामी त्यहाँ पुगेका थियौँ’, एभिन्युजका सुदूरपश्चिम ब्युरो प्रमुख विकले भने, ‘मदिरामा धुत भएका हाकिम साप र निवर्तमान अध्यक्ष सहितको समूहले दुर्व्यवहार गर्दै ज्यानै मार्ने धम्की दिए ।’

‘हामीले कुनै पनि स्वार्थ नराखी तथ्यगत रिपोर्टिङ गरेका छौँ’, विकले भने, ‘सरकारी सवारी साधनमै मदिरा सेवन गरेका नगरपालिकाका कार्यालय प्रमुख दीपक कुमार आचार्य र वडा नं २ का निवर्तमान अध्यक्ष हरि विष्टले अभद्र व्यवहार गरे । त्यति मात्र होइन अपरिचित व्यक्तिलाई फोन नम्बर दिएर ज्यानै मार्ने सम्मको धम्की दिन लगाए ।’

समाचार सङ्कलनका लागि कन्द्रा खोलामा पुग्दा नदी उत्खनन गरिरहेका सवारी साधन भागेपछि हामी थप सूचना सङ्कलनका लागि नगरपालिकाको कार्यालयमै पुगेको विकले बताएका छन् ।