मोदीसँग पश्चिम सेती निर्माणमा सहयोग मागियो, सीमा विवाद प्रतिवेदनमा मौन

मोदीसँग पश्चिम सेती निर्माणमा सहयोग मागियो, सीमा विवाद प्रतिवेदनमा मौन

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा भारतको सहयोग मागेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लुम्बिनीमा सोमबार भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री देउवाले भारत सरकार मातहको नेशन हाइड्रोपावर इलेक्ट्रिक कर्पोरेशन (एनएचपिसी) लगायत इच्छुक भारतीय कम्पनीलाई पश्चिम सेती निर्माणमा सहकार्यका लागि आह्वान गरेका हुन्। 

चिनियाँ कम्पनी थ्री गर्जेजसँगको ठेक्का सम्झौता खारेज भएको झन्डै पाँच वर्षपछि सरकारले भारतलाई उक्त परियोजना निर्माणको ठेक्का दिन पहिलोपटक औपचारिक रुपमा छलफल थालेको हो।

थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने बताएपछि ओली नेतृत्वको सरकारले कम्पनीसँगको सम्झौता खारेज गरेको थियो। त्यसयता परियोजना निर्माण अनिश्चित बनेको थियो। 

लुम्बिनीको एक होटलमा भएको छलफलमा देउवा र मोदीबीच पञ्चेश्वर परियोजनालाई प्राथमिकतासाथ अघि बढाउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

त्यस अवसरमा प्रधानमन्त्री देउवाले भारतसँग नेपालले दीर्घकालीन हिसाबले दुवै देशलाई लाभ हुनेगरी निर्वाध बिद्युत् व्यापार गर्न चाहेको बताएका थिए। 

देउवा र मोदीले भारतको लगानीमा निर्माणाधीन अरुण तेश्रो परियोजनामा भइरहेको प्रगतिप्रति सन्तुष्ठी ब्यक्त गरेका थिए। अरुण चौथो परियोजना निर्माणका लागि नेपाल बिद्युत् प्राधिकरण र सतलज कम्पनीबीच भएको सम्झौताको दुवै प्रधानमन्त्रीले स्वागत गरे। 

प्रधानमन्त्री देउवाको गत अप्रिल १ देखि ३ सम्म भएको भारत भ्रमणमा भएका समझदारी कार्यान्वयन गर्ने बिषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

देउवाले भारतले नेपाललाई भूकम्पपछिको सम्पदा र विद्यालय पुनर्निर्माण र कोरोना महामारीमा दिएको सहयोगका लागि धन्यवाद दिए। 

कृषिमल चाँडै दिन आग्रह 
प्रधानमन्त्री देउवाले कृषि मल चाँडै उपलब्ध गराइदिन भारत सरकारलाई अनुरोध गरेका छन्। बर्षायाम नजिँकिदै गर्दा कृषि मल अभाव हुने गरेकाले यसपाली समस्या आउन नदिन चाँडै दिन आग्रह गरेका हुन्। 

नेपाल र भारतबीच परिमार्जित पारवहन सन्धि र त्यसका प्राटोकल चाँडै टुङ्ग्याउनेबारे पनि छलफल भएको छ। त्यसैगरी ब्यापार सन्धिको नवीकरण बारे पनि मोदी र देउवाबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

अतिरिक्त हवाई रुट माग 
नेपालले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट अतिरिक्त हवाई रुट उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ। नेपालले लामो समयदेखि अतिरिक्त हवाई रुट उपलब्ध गराउन अनुरोध गरे पनि भारतले सुरक्षाको कारण देखाउँदै सहमति जनाएको छैन। 

प्रधानमन्त्री देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान शुरु भइसकेको बताउँदै त्यसबाट नेपाल र भारतबीच कनेक्टिभिटी, सांस्कृतिक सम्पर्क, पर्यटन र जनस्तरको आवागमन र सम्बन्ध बढाउने बताएका थिए। 

मोदी नेपाल आउनु केही घण्टाअघि मात्रै प्रधानमन्त्री देउवाले उक्त विमानस्थल उद्घाटन गरेका थिए। कुवेतको जजिरा एयरवेजले पहिलो व्यवसायिक उडान गरिसकेको छ।

बुद्धिस्ट सर्किटबारे छलफल 
देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच बुद्धिस्ट सर्किट निर्माणबारे पनि छलफल भएको छ। भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी र भारतका बोधगया, सारनाथ र कुशीनगर जोडेर बुद्धिस्ट सर्किट निर्माणमा साझा प्रयास आवश्यक रहेको बताएका थिए। 

रामायण सर्किट जस्तै बुद्ध सर्किट निर्माणबाट दुई देशबीच सांस्कृतिक र धार्मिक संबन्ध विस्तार हुने उनले बताएका थिए। 

मोदी र देउवाबीच चाँदनी दोधारामा सुख्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी निर्माणबारे छलफल भएको छ। 

उत्तराखण्डको पुर्णागिरी माई र डडेल्धुराको पर्शुराम धाम जोड्ने पुल निर्माणबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। महाकाली नदीमाथि झुलाघाटमा पुल बनाउने बिषयमा छलफल भएको परराष्ट्रले जनाएको छ। 
मोदीसँगको भेटमा देउवाले उदयपुरस्थित मोतीगाडा—फत्तेपुर—रामपुर सडक भारतको सहयोगमा निर्माणका लागि आग्रह गरे।

सीमा विवाद र प्रबुद्ध समूहको प्रतिवेदनमा मौन
भेटवार्तामा सहभागी अधिकारीहरुका अनुसार सीमा विवाद र प्रबुद्ध समूहका प्रतिवेदनका बिषयमा प्रधानमन्त्री देउवा र मोदीबीच छलफल भएन। 

मोदीको धार्मिक भ्रमण भएकाले यसपटक यी बिषय प्रधानमन्त्रीले उठाउन नचाहेको एक सरकारी अधिकारीले बताए। 

गत अप्रिलमा भएको नयाँ दिल्ली भ्रमणमा देउवाले समकक्षि मोदीसंग सीमा विवाद समाधानका बिषयमा कुरा उठाएका थिए। मोदीले स्थापित सरकारी संयन्त्रबाट सीमा समस्या हल गर्नसकिने बताएर नेपालको आग्रह पन्छाइदिएका थिए। 

देउवाको निम्तोमा मोदी ६ घण्टे भ्रमणमा नेपाल आएका हुन्। संक्षिप्त भए पनि मोदीको यो औपचारिक भ्रमण हो। सन् २०१४ मा प्रधानमन्त्री भएयता मोदीको यो पाँचौ नेपाल भ्रमण हो। 

भारतबाट सुरक्षा सल्लाहकार र विदेशसचिव, नेपालका सात मन्त्री 
भेटवार्तामा भारतका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रा सहभागी थिए। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित सात मन्त्री तथा उच्च अधिकारी सहभागी भए। 

गृहमन्त्री बालकृष्ण खाँण, उर्जामन्त्री पम्फा भुसाल, भौतिक योजनामन्त्री रेणु यादव, कानुनमन्त्री गोविन्द बन्दी, शिक्षामन्त्री देवेन्द्र पौडेल र पर्यटनमन्त्री प्रेम आले पनि भेटमा सहभागी थिए। 

मोदीलाई लुम्बिनीस्थित हेलिप्याडमा देउवासहित ७ मन्त्रीले स्वागत गरे भने बिदाईमा पनि सबैजना सहभागी भए। -नेपालखबरबाट साभार