जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीकी महिला वडाध्यक्ष विजयी

जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीकी महिला वडाध्यक्ष विजयी

कैलालीको जोशीपुर गाउँपालिकामा महिला वडाध्यक्ष निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टीकातर्फबाट वडा नं. ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा प्यानलसहित निर्वाचित भएकी हुन्।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ६१५ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्। उनले नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार किशोर कठरियालाई २२ मतको अन्तरले पराजित गरेकी छन्।  

कैलाली जिल्लाका १३ वटा स्थानीय पालिका मध्ये वडाध्यक्षमा निर्वाचित हुने डगौरा पहिलो महिला हुन्। उनी बाहेक अरु कोही पनि महिला वडाध्यक्षमा निर्वाचित नभएको मुख्य निर्वाचित अधिकृत जयानन्द पनेरुले जानकारी दिए।  

उनीसँगै वडा नं. ३ को महिला सदस्यमा फूलमती डगौरा, दलित महिला सदस्यमा शितल श्रेष्ठ विक, खुला सदस्यहरुमा राजेशकुमार चौधरी र ज्ञानप्रसाद महतौ निर्वाचित भएका छन्। डगौराले ६४२, विकले ६५१, चौधरीले ६५५ र महतौले ६१६ मत प्राप्त गरेका छन्। कुल खसेको २ हजार ८१९ मध्ये ६०६ मत बदर भएको थियो।