धनगढी । काँग्रेसले मेयर र एमाले उपमेयर जितेको कैलालीको गोदावरी नगरपालिकामा माओवादी र समाजवादी निल भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुवै पार्टीले मेयर उपमेयरमा काँग्रेस सँग गठबन्धन गरेको थियो । तर समाजवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी रत्ना कडायत एमालेका उम्मेदवार शारदा देवी रोकाया सँग पराजित भएकी छन् ।
यस्तै माओवादी र समाजवादीले १२ वटै वडामा उम्मेदवारी दिएका थिए । सबै वडामा उनीहरूका उम्मेदवारहरू पराजित भएका छन् । वडा नम्बर १ बाट उम्मेदवारी दिएका माओवादीका दिनेश शाह तेस्रो भए भने वडा नम्बर २ बाट उम्मेदवारी दिएका धर्म सिंह कुँवरले पनि तेस्रोमा नै चित्त बुझाए ।
२०७४ मा एमालेबाट निर्वाचित भएका वडा नम्बर ११ का वडा अध्यक्ष शिव विकले यो पटक समाजवादीबाट उम्मेदवारी दिएका थिए । तर उनी पनि पराजित भएका छन् । २०७४ मा एमालेबाट निर्वाचित भएका वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण बोहराले पनि यो पटक हार बेहोरेका छन् ।