डोटीका ९ वटै पालिकाको मत परीणाम सार्वजनिक, कहाँ कसले जित्यो ?

डोटीका ९ वटै पालिकाको मत परीणाम सार्वजनिक, कहाँ कसले जित्यो ?

डोटी। डोटीका ९ वटै पालिकाहरुको मत परीणाम सार्वजनिक भएको छ । दुई नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटी जिल्लामा नेपाली कांग्रेस सात वटा पालिकामा विजयी भएको हो ।

नेपाली कांग्रेसले दुई नगरपालिका र चार गाउँपालिकामा जित हासिल गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक/एक पालिकामा मात्रै विजयी भएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा नेपाली कांग्रेस मेयर/उपमेयर सहित विजयी भएको हो । त्यस्तै सायल, आदर्श, पूर्वीचौकी र बडीकेदार गाउँपालिकामा पनि नेपाली कांग्रेस अध्यक्ष/उपाध्यक्षसहित विजयी भएको छ ।

जोरायल गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षसहित नेकपा (एमाले) विजयी भएको छ भने बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमेदवार र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएको छ । डोटी जिल्लामा ९ वटा पालिका र ६५ वटा वडाहरु रहेका छन् । ६५ वटा वडाहरु मध्य नेपाली कांग्रेस सबैभन्दा बढी ३९ वडाहरुमा विजयी भएको छ । नेकपा एमाले १८, नेकपा माओवादी केन्द्र ५ र नेकपा एकीकृत समाजवादी एक वडामा विजयी भएको छ । त्यस्तै एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार र एउटा वडामा स्वतन्त्र उमेदवार विजयी हुनुभएको छ ।

पूर्वीचौकीमा कांग्रेसको ‘क्लीन स्वीप’
पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले एकलौटी विजय हासिल गरेको छ । सात वटा वडा रहेको पूर्वीचौकीमा सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले कांग्रेसका उम्मेदवारहरु विजयी भएको निर्वाचन कार्यालयले डोटीले जनाएको छ । गाउँपालिकाको अध्यक्षमा राम प्रसाद उपाध्याय , उपाध्यक्षमा पशुपती खड्का विजयी हुनु भएको हो । उपाध्याय ५ हजार १ सय ३३ मतसहित विजयी हुनुभएको छ । निकटम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का कृष्ण कुमार खड्काले २ हजार २ सय ५ मत प्राप्त गर्नु भयो ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उमेदवार देव बहादुर खड्का २ सय ३२ मतमा सिमित रहनु भयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार दिपक बहादुर धामीले २७ मत मात्रै प्राप्त गर्नु भयो ।उपाध्यक्षमा पनि कांग्रेसकै पशुपती खड्का ४ हजार ७ सय २१ मतसहित विजयी हुनुभएको छ । निकट प्रतिद्वन्द्वी एमालेका सारदा कुमारी साउँदले २ हजार ४ सय ४४ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का उमेदवार हरिश कुवँरले २ सय ५६ मत मात्रै प्राप्त गर्नु भयो ।पूर्वीचौकी गाउँपालिकामा जम्मा ८ हजार २ सय ५६ मत खसेको थियो । गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र० र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भए पनि माओबादी र समाजवादी २ सय ५६ मत भन्दा माथि उक्लिन सकेन । २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उमेदवार विजयी हुनुभएको थियो ।

सायलमा एमालेको सत्ता पल्टाउँदै कांग्रेस उमेदवार विजयी
सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचितहुनु भएको छ । एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित हुनुभएको हो । जोशी र डुम्रेल दुबैजना २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रतिस्पर्धी हुन् । उतिबेला डुम्रेल निर्वाचित भएका थिए । यसपटक अध्यक्षमा जोशीले ३ हजार २४३ मत प्राप्त गरि जीत हासिल गर्दा डुम्रेलले २ हजार २४० मत प्राप्त गर्नुभयो । नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डबलबहादुर साउँदले ५ सय ३२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि कांगे्रसकै निर्मला बोहरा ओली निर्वाचित हुनुभएको छ । उहाँले २ हजार ९३७ मत प्राप्त गर्दा एमालेकी विष्नादेवी सिंहले २ हजार १५४ मत प्राप्त गर्नुभयो । सिंह निवर्तमान उपाध्यक्ष पनि हुन् । यस्तै माओवादी केन्द्रसँगको तालमेलमा उठेका नेकपा एसका टिका सिंहले ६ सय २६ मत प्राप्त गर्नुभयो । ६ वटा वडा रहेको यो पालिकामा ५ वटामा कांग्रेस जित्दा एकमा मात्रै एमाले जित्यो । अघिल्लो निर्वाचनमा एकमात्रै कांग्रेसले जितेको थियो भने, पाँचमा एमालले जितेको थियो ।

जोरायल गाउँपालिकामा पुरानै अनुहार
जोरायल गाउँपालिकामा पुरानै जनप्रतिनिधि दोहोरीएका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा पुनः निर्वाचित हुनुभएको हो । नेकपा (एमाले)का उमेदवार ओझा ३७ मतको अन्तरले मात्रैे विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै उमेदवार बोहरा पनि थोरै मतान्तरले विजयी हुनुभएको छ । ओझा ३ हजार ४ सय ४९ मतसहित विजयी हुनुभएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार दीपक बहादुर विष्टले ३ हजार ४ सय १२ मत प्राप्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट अध्यक्षका उमेदवार किरण मल्लले एक हजार ६ सय ५९ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उमेदवार रघुनाथ वस्तीले २७ मत मात्रै प्राप्त गर्नु भयो । २०६४ को निर्वाचनमा पनि ओझा कांग्रेस उमेदवार विष्टसँगै निर्वाचन लडेका थिए । उपाध्यक्षमा बोहरा ३ हजार ५ सय ९९ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी चन्द्रा साउँद बोहराले ३ हजार ५ सय १७ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केद्र) का तर्फबाट उपाध्यक्षका उमेदवार प्रेमा कुमारी ओलीले एक हजार ३ सय १७ मत प्राप्त गर्नुभएको छ । ६ वटा वडा रहेको जोरायल गाउँपालिकामा दुई वडा कांग्रेसले जिेतेको छ भने अन्य ४ वडामा एमाले विजयी भएको छ ।

आदर्शमा एमालेको सत्ता पल्टाउँदै कांग्रेस उमेदवार विजयी
आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको हो । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार गणेश बहादुर खड्का विजयी हुनुभएको छ । खड्का ३ हजार ७ सय ७३ मत सहित विजयी हुनुभएको हो । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार डम्बर ओलीले ३ हजार ३ सय ७७ मत प्राप्त गर्नु भएको छ । नेकपा (माओवादी केन्द्र) उमेदवार योगेन्द्र बहादुर खड्काले ९ सय ७ मत मात्रै प्राप्त गर्नु भयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार तारा प्रसाद ओझा १ सय ३६ मतमा सीमित रहनु भयो ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लक्ष्मी धामी (रोकाया) ३ हजार ६ सय ७४ मत सहित विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्दी एमाले उमेदवार जानकी खड्काले ३ हजार ३ सय ८९ मत प्राप्त गर्नु भयो । नेकपा (एकीकृत समाजवादी)का उमेदवार रमेश विष्टले ३ सय ३३ मत मात्रै प्राप्त गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार कविता साउदले एक सय ७२ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वटा वडाहरु रहेको आदर्श गाउँपालिकामा ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको छ ।

बोगटान फुड्सिलको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी
बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उमेदवार कमल बहादुर गड्सिला विजयी हुनुभएको हो भने उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विष्ना देवी बम विजयी हुनुभएको छ । अध्यक्ष गड्सिला ३४ मतको अन्तरले विजयी हुनुभएको हो भने उपाध्यक्ष बम ७२ मतको मतान्तरले विजयी हुनु भएको हो । गड्सिलाले २ हजार ५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार हस्त बहादुर बुढाले २ हजार २४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उमेदवार डील बहादुर बमले एक हजार ९ सय ३४ मत प्राप्त गर्नु भयो । उपाध्यक्षमा कांग्रेस उमेदवार विष्ना देवी बम २ हजार ६३ मत ल्याउँदै विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार ज्ञानु मल्ल बमले एक हजार ९ सय ९१ मत प्राप्त गर्नु भयो । अर्का प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र ) का उमेदवार कलावती कुमारी चिमालले एक हजार ८ सय ७१ मत प्राप्त गर्नु भयो । बोगटान फुड्सील गाउँपालिकाका ७ वटा वडाहरु मध्य २ वटा वडामा नेकपा (एमाले)  दुई वटा वडामा नेकपा (माओवादी केन्द्र) र बाँकी ३ वटा वडाहरुमा कांग्रेस विजयी भएको छ । बोगटानमा नेकपा (माओवादी केन्द्र)लाई नेकपा (एकीकृत समाजवादी) को पनि साथ रहेको थियो । २०७४ को निर्वाचनमा गाउँपालिकाका अध्यक्ष सहित माओवादीले ३ वटा वडाहरु, एमालेले उपाध्यक्ष सहित ३ वडा र कांग्रेसले १ वडा मात्रै जितेको थियो ।

बडीकेदारमा कांग्रेस विजयी, समाजवादी माओवादी गठबन्धन तेस्रो स्थानमा
बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उमेदवार विजयी हुनुभएको हो ।नेपाली कांग्रेसका उमेदवार भैरब बहादुर साउद २ हजार ३ सय ४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार चक्र बहादुर घर्तिले १ हजार ६ सय ८४ मत प्राप्त गर्नु भयो । त्यस्तै, नेकपा समाजवादीका उमेदवार भक्तबहादुर साउद १ हजार ४ सय ७१ मतमा सीमित रहनु भयो । गाउँपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उमेदवार विजय हुनुभएको छ । कांग्रेस उमेदवार दम्मरी कुमारी विष्ट २ हजार ४ सय ७ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी एमाले उमेदवार सपना सिडारीले २ हजार २ सय ७६ मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका उमेदवार देवीसरा देवी घर्तीमगरले ८ सय ३२ मत मात्रै प्राप्त गर्नु भयो । गाउँपालिकाका ५ वटा वडाहरु मध्य कांग्रेस २, एमाले २ र माओवादी १ वडामा विजय भएको छ । बडीकेदार गाउँपालिकामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विशेष चासो राखेका थिए । कांग्रेससँग तालमेल नमिले पछि सो पालिकामा नेकपा (समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको थियो ।

कांग्रेसले २५ वर्षपछि फर्कायो दिपायल सिलगढीमा गुमेको विरासत
दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर/उपमेयर सहित भारी मतले विजयी भएको हो । नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार बाजी सिंह खड्का (विजय) ५ हजार १३८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार लक्ष्मण मलासीले ३ हजार ५१५ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका उमेदवार खगेन्द्र बहादुर साउँद (केबी)ले १ हजार ९८३ मत मात्रै प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरका उमेदवार रोशन भण्डारीले ५६ मत प्राप्त गर्नु भएको छ भने जनता समाजवादीका उमेदवार कलादेवी श्रेष्ठले १४ मत प्राप्त गर्नु भयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका उमेदवार नरेश आलेले ५ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार असोक बिक (लुहार)ले ४ मत प्राप्त गर्नु भयो । नगर उप–प्रमुखमा नेपाली कांग्रेसकै उमेदवार कलावती महर (साउँद)४ हजार ७६८ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार रुपा कठायतले ४ हजार १२९ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार ऐश्वर्या भण्डारी (विष्ट)ले ५७८ मत मात्रै प्राप्त गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार शान्ती कुमारी बोगटी (खड्का)ले १८७ मत मात्रै प्राप्त गर्नु भयो । दिपायल सिलगढी नगरपालिकामा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ मा भएको निर्वाचनमा एमालेले कब्जा जमायो । जसमा एमालेका पूर्णराज जोशी जितेका थिए । निर्वाचित मेयरका उमेदवार खड्का २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उमेदवार मञ्जु मलासीसँग पराजित हुनुभएको थियो । ०७४ मा कांग्रेसले ४ वटा वडा मात्रै जितेको थियो भने एमाले ५ वडा सहित मेयर/उपमेयरमा विजयी भएको थियो । यसपटक एमालेको विरासत तोड्दै कांग्रेस पाँच वटा वडामा विजयी भएको छ । स्वतन्त्र जितेका एक जना वडा अध्यक्ष यसअघि कांग्रेसबाट विजयी भएका थिए । एमाले नगरका दुई वटा वडा र माओवादी एक वडामा विजय भएको छ ।

केआईसिंहमा पुरानै अनुहारले पाए लोकप्रिय मत
केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा कांग्रेसका उमेदवार विजयी हुनुभएको हो । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लोकेन्द्र बहादुर शाही ४ हजार २६२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २ हजार ६६१ मत प्राप्त गर्नु भएको छ । त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उमेदवार मिना देवी विष्ट ४ हजार ७२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार निर्मला अवस्थीले २ हजार ५३६ मत प्राप्त गर्नु भएको छ । केआईसिंह गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनमा चुनाव लडेका थिए । केआईसिंह नेकपा माओवादी केन्द्रका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा एकीकृत समाजवादीका नेतृ सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीको गृह पालिका हो । अध्यक्षमा निर्वाचित शाही र उपाध्यक्षमा निर्वाचित विष्ट २०७४ को निर्वाचनमा पनि ७ वटा वडासहित भारी मतले विजयी हुनुभएको थियो । केआईसिंह गाउँपालिकाका सात वटा वडाहरु मध्य चार वडामा नेपाली कांग्रेस, एक वडामा राप्रपा र एक/एक वडामा समाजवादी र माओवादीका उमेदवार विजयी हुनुभएको छ ।

शिखर नगरपालिकामा कांग्रेस दोस्रो पटक विजयी
शिखर नगरपालिकामा नेपाली कांग्रेसले जीत हाँसिल गरेको छ । कांग्रेसले मेयररउपमेयर सहित ७ वटा वडामा जीत हासिल गरेको हो । २०७४ को पहिलो निर्वाचनमा पनि कांग्रेसले ८ वडा सहित मेयर रउपमेयर जितेको थियो । नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार दीर्घ बलायर ६ हजार ५६२ मतले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार भीम बलायरले ४ हजार ५ ९१ मत प्राप्त गर्नु भयो । अर्का प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उमेदवार सागर भट्टले ३०२ मत प्राप्त गर्नु भयो भने राप्रपाका उमेदवार गिरी रोकाया ४२ मतमा सीमित रहनु भयो । नगर उप प्रमुखमा नेपाली कांग्रेसका उमेदवार सुनिता रावल (जोरा) ६ हजार ४२६ मत ल्याउँदै विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी एमाले उमेदवार लक्ष्मी देवी मल्लले ४ हजार ६४५ मत प्राप्त गर्नु भयो । अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका उमेदवार रमेश प्रसाद जोशीले ३६६ मत मात्रै प्राप्त गर्नु भयो । नगरका ११ वटा वडाहरु मध्य ७ वडामा कांग्रेस र ४ वडामा एमाले उमेदवार विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख/उपप्रमुख
दिपायल सिलगढी नगरपालिका– प्रमुख  बाजिसिं खड्का ‘बिजय,’ उपप्रमुख -कल्पना साउद
शिखर नगरपालिका– प्रमुख – दीर्घबहादुर बलायर, उपप्रमुख -सुनिता रावल
पूर्बीचौकी गाउँपालिका– अध्यक्ष -रामप्रसाद उपाध्याय, उपाध्यक्ष – पशुपतिदेवी खड्का
बडीकेदार गाउँपालिका– अध्यक्ष स् भैरबबहादुर साउद उपाध्यक्ष स् डम्मरी कुमारी बिष्ट
आदर्श गाउँपालिका– अध्यक्ष – गणेशबहादुर खड्का, उपाध्यक्ष – लक्ष्मी रोकाय
सायल गाउँपालिका– अध्यक्ष -धर्मराज जोशी उपाध्यक्ष – निर्मला बोहरा ओली
केआईसिंह गाउँपालिका– अध्यक्ष -लोकेन्द्रबहादुर शाही उपाध्यक्ष – मिनादेवी बिष्ट
नेकपा एमालेले जितेको पालिका तथा प्रमुख-उपप्रमुख
जोरायल गाउँपालिका– अध्यक्ष -दुर्गादत्त ओझा उपाध्यक्ष स् जमुना बोहरा
नेकपा माओवादी केन्द्रले जितेको पालिका तथा प्रमुख
बोगटान फुड्सिल गाउँपालिका– अध्यक्ष -कमल गड्सिला उपाध्यक्ष- बिष्ना देउवा बम (नेपाली कांग्रेस)