कैलालीमा भ्रष्टाचार अभियोगमा अदालतमा मुद्दा खेपिरहेका व्यक्ति गाउँपालिका अध्यक्षमा निर्वाचित

कैलालीमा भ्रष्टाचार अभियोगमा अदालतमा मुद्दा खेपिरहेका व्यक्ति गाउँपालिका अध्यक्षमा निर्वाचित

धनगढी।  भ्रष्टाचार अभियोगमा एक महिना अघिबाट विशेष अदालतमा मुद्दा खेपिरहेका व्यक्ति गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

नदीजन्य पदार्थ दोहन एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको कसुरमा २०७९ वैशाख २ मा कैद र बिगोरजरिवाना मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका प्रतिवादी कैलालीको मोहन्याल गाउपालिका–२ का निवर्तमान वडाध्यक्ष देवीदत्त उपाध्याय बुधबार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका उपाध्यायले ३ हजार १ सय ३४ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेका धर्म थापा (२७१५) लाई पराजित गरेका हुन् । मुद्दा दायर भएपनि उनले वडाअध्यक्षबाट राजीनामा दिएर पालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए । बुधबार आएको मतपरिणाम अनुसार उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

कैलालीको मोहन्याल गाउँपालिका भएर बग्ने पत्थरगढ, सेते, सालघारी, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीमा हिनामिना गरेको कसुरमा गाउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ठेकेदार, उपाध्यायसहित ७ जना वडाअध्यक्ष र तीन जना वडा सदस्य विरुद्ध ५४ लाख १८ हजार ५ सय ६८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

पालिका अध्यक्ष निर्वाचित उपाध्याय विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को खण्ड क र दफा १७ बमोजिम कसुर गरेको आरोपमा ६ वर्ष देखि ८ वर्ष सम्म कैद, ५४ लाख १८ हजार ५६८ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना तथा हिनामिना भएको रकम असुल उपर गर्नुपर्ने मागदावी लिएको थियो ।

‘भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका व्यक्तिलाई उम्मेदवार बन्न कानुनले रोकेको छैन भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्ति उम्मेदवार बन्न नपाउने भन्नेमा स्थानीय सरकार निर्वाचन ऐन २०७३ को दफा १३ मा केही उल्लेख छैन । उपाध्यायलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कि नगराउने भन्ने अन्योल भएको छ ।

विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुुद्दा विचाराधीन रहेका बेला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उपाध्यायलाई सपथ ग्रहण गराउने वा नगराउने भन्ने विषयमा अन्यौल भएको कैलालीका मुुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले    बताए ।