हाम्रो शक्तिको आडमा आफू माथि पुग्ने तर, हामीलाई सहयोग नगर्ने : गरिमा शाह

हाम्रो शक्तिको आडमा आफू माथि पुग्ने तर, हामीलाई सहयोग नगर्ने : गरिमा शाह

धनगढी । पाँच दलीय गठबन्धन भनिए पनि सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच मात्र गठबन्धन भएको थियो । तर, अनपेक्षित नतिजा आएपछि अहिले एकीकृत समाजवादीका नेताहरू रुष्ट भएका छन् ।

यसै क्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले गठबन्धनमा इमानदारिता नभएको बताएन् । हाम्रो शक्तिको आडमा आफू माथि पुग्ने तर, हामीलाई कुनै साथ सहयोग नगरेको अवस्था देखियो । यसले गठबन्धन के हुने भन्ने विषयमा हामीले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । जुन कुरामा इमानदारिता हुँदैन त्यो कुरालाई अगाडी बढाइरहन आवश्यक हुँदैन उनले भनिन् ।

हामी सानो शक्ति भए पनि गठबन्धनमा इमानदारिता देखायौँ । तर, हामीलाई नियोजित ढंगले तल झार्ने काम गठबन्धन भित्रका शक्तिहरूले गर्नुभयो । यसले गर्दा मत परिणाम हाम्रो लागि अप्रत्याशित छ । बझाङमा तीन दलीय गठबन्धन भएको थियो । थलरा र तल्कोटमा त हाकाहाकी देखियो नि । थलरामा स्वतन्त्र उठाइयो । उहाँलाई बसाएको भए यो परिणाम आउने थिएन । तल्कोटमा पनि त्यो अवस्था देखियो । जुन शक्तिसँग गठबन्धन गरेका थियौँ, त्यो शक्तिले हामीलाई सहयोग नगरेको अवस्था हो ।

यस्तो किन भयो, यसको समीक्षा हुन्छ र हुनु पनि पर्छ । गठबन्धनले गरेको निर्णय नमान्ने हो भने यो गठबन्धनमा बसिरहनुको औचित्य त छैन । कसरी अगाडि बढ्ने भन्नेबारे हामी मसिनो गरी छलफल गर्छौँ र नयाँ ढंगबाट अगाडी बढ्नु पर्छ भन्ने लाग्छ मलाई उनले बताईन् ।