कांग्रेस हारेपछि दार्चुलामा जिल्ला सचिवले दिए राजीनामा

कांग्रेस हारेपछि दार्चुलामा जिल्ला सचिवले दिए राजीनामा

दार्चुलामा नेपाली कांग्रेसका जिल्ला सचिवले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले हारेको भन्दै राजीनामा दिएका छन्। हिजो (बिहीबार) सचिव पुलेन्द्र कार्कीले पदबाट राजीनामा दिएका हुन्। 

गत स्थानीय तहको निर्वाचनमा कार्की कांग्रेसबाट दुँहु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। यसपालि पनि उनी गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी मैदानमा सामेल भएका थिए। तर, उनी नेकपा एमालेका नरेन्द्र बडालसँग पराजित भए। पराजित भएपछि उनले पार्टीको जिम्मेवारी त्यागेका हुन्। पार्टीले अपेक्षित परिणाम पाउन नसकेको उनको भनाइ छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्लासमेत रहेको दार्चुलामा कांग्रेस ‘क्लीन स्वीप’ भएको छ। दार्चुलामा यसपटक नेकपा एमाले र माओवादीका उम्मेदवारहरुले जित हात पारेका छन्। गत निर्वाचनमा ९ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ५ क्षेत्रमा जित हात पारेको थियो। तर यसपटक भने कांग्रेस जिल्लामा शून्य भएको छ। ९ मध्ये ५ मा नेकपा एमालेका उम्मेदवार प्रमुख पदमा जितेका छन् भने ४ मा माओवादी केन्द्र विजयी भएको छ।