डोटीका ९ वटै पालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूले लिए शपथ

डोटीका ९ वटै पालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूले लिए शपथ

डोटी । डोटी जिल्लाका ९ वटै पालिकाका प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विदुर काफ्लेले बिहीबार जिल्ला अदालत डोटीमा सबै पालिकाका प्रमुख तथा अध्यक्षलाई शपथ खुवाएका हुन् ।

 

मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्ने, ईश्वररदेश र जनताको नाममा उनीहरूले शपथ लिएका हुन ।

शपथ कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख दीर्घ बहादुर बलायर, दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्का, आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्का, जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, बडिकेदार गाउँपालिका अध्यक्ष भैरव साउद, पुर्बीचौकी गाउँ पालिका राम प्रसाद उपाध्याय, सायल गाउँपालिका अध्यक्ष धर्म राज जोशी, बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिला र केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

एक औपचारिक कार्यक्रमका बिच निर्वाचन अधिकृत, नव निर्वाचित प्रतिनिधि, पत्रकार, राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागितामा पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री वीर बहादुर बलायरले आज सम्म कुनै दलका नेता तथा कार्यकर्ता भए पनि आजबाट जनताका सेवक भएर सबैलाई समान रूपमा हेरेर काम गर्नु पर्ने बताउनु भयो ।

नौ वटा पालिका मध्ये सात पालिकामा नेपाली काँग्रेसले प्रमुख तथा अध्यक्ष, आँठ पालिकामा उपप्रमुख तथा उपाध्यक्ष, नेकपा एमालेले एक पालिकामा अध्यक्ष तथा उपाध्यक्ष र नेकपा माओवादी केन्द्रले एक पालिकामा अध्यक्ष जितेको छ । पालिका प्रमुखले उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरूलाई र पालिका अध्यक्षले उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरूलाई शपथ खुवाउने छन् ।

यसैबिच दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी खड्का विजयले उपप्रमुख सहितका नव निर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहण गराएका छन् । नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बिच उपप्रमुख, नौ ओटै वडाका वडा अध्यक्ष र सबै सदस्यले पालिका प्रमुख सामु पद तथा गोपानियताको शपथ लिएका हुन् ।