धनगढी मत गणना अपडेट: मेयर पदका स्वतन्त्र उम्मेदवार हमाल २०,००६ मत सहित अग्रस्थानमा

धनगढी मत गणना अपडेट: मेयर पदका स्वतन्त्र उम्मेदवार हमाल २०,००६ मत सहित अग्रस्थानमा

धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ७७ मतको अग्रता लिएका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ४४ हजार १०३ मत गन्दा हमालले २० हजार ६ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ९२९ मतसहित हमाललाई पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ४ हजार ९१४ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्र (गठबन्धनकी साझा उमेदवार) की शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अधिकारीले ९ हजार १६८ मतका साथ लिड गरिरहेकी छिन् भने एमालेकी रानाले ८ हजार ५४० र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६८ मत पाएका छन् ।

१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ। १७ नम्बरबाहेक मतगणना सकिएका सबै वडामा मेयरका उम्मेदवार हमालले सबैभन्दा बढी मत पाएका छन् ।