‘बलात्कारमा संलग्नहरु’ प्रहरीको निगरानीमा, प्रहरी पुग्यो पीडित युवतीको सम्पर्कमा

‘बलात्कारमा संलग्नहरु’ प्रहरीको निगरानीमा, प्रहरी पुग्यो पीडित युवतीको सम्पर्कमा

काठमाडौं । सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कृत भनिएकी युवतीसम्म प्रहरी पुगेको छ । घटनाको अनुसन्धान सूक्ष्म तरिकाले बढाउन प्रहरीले परिवारसँग सम्पर्क बनाइसकेको जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले युवतीको परिवारसँग सम्पर्कमा रहेको खुलाए । अभिभावकसँग वृस्तृत बुझेर आवश्यक कदम चाल्ने उनको भनाई छ ।

युवतीलाई काउन्सिलिङको जरुरी रहेको भन्दै प्रहरीले कदम बढाइसकेको छ । घटनासँग जोडिएकाहरुबारे समेत निगरानी बढाइएको र कुनैपनि बेला अनुसन्धानको दायरामा ल्याउने तयारी भएको प्रहरी स्रोतको भनाई छ ।

सुन्दरी प्रतियोगिताका आयोजकले १६ वर्षमै बलात्कार गरेको भन्दै युवतीले सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी छिन् । उनले आफूमाथि यौन दुव्र्यवहार गर्ने व्यक्तिको नाम नलिएपनि ती कन्सल्ट्यान्सीका सञ्चालक रहेको बताएकी छिन् ।

युवतीले ८ वर्ष अघिको घटनामा एकजना फोटोग्राफरको पनि नाम जोडेकी छिन् । ती फोटोग्राफरले आफ्नो पेशा नै फोटो खिच्ने रहेको र घटनामा कुनै संलग्नता नरहेको बताएका छन् । उनले भविष्यमा युवतीले बढाउने कानूनी प्रक्रियामा आफ्नो साथ हुने समेत बताए ।

युवतीले पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि कठिन घडीमा साथ नदिएको खुलाएकी छिन् । सुब्बाले पनि यसप्रति माफी मागेकी छिन् ।

यौन दुव्र्यवहारको घटना खुलेपछि सभामुख अग्निप्रसाद सापकोटाले पनि सरकारलाई यसबारे अनुसन्धान बढाएर दोषीमाथि कारबाही गर्न रुलिङ गरेका छन् । यो घटना अहिले देशव्यापी बहसको विषय बनेको छ ।