महाकालीमा बनेका दुई पुल संचालनमा ल्याउने तयारी

महाकालीमा बनेका दुई पुल संचालनमा ल्याउने तयारी

दार्चुला। तुइन विस्थापन गर्न महाकाली नदीमा निर्माण गरिएका झोलुङ्गे पुल संचालनमा ल्याउन तयारी थालिएको छ । व्याँस गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा निर्माण सम्पन्न पुल संचालनमा आउन लागेका हुन् ।

नागरिकको सहजताका लागि निर्माण सम्पन्न ती पुलहरु दुबै देशको समन्वयमा केही दिनभित्रै संचालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नेपालको तर्फबाट सीमा पुल संचालनमा ल्याउन निर्णय नै भइसकेको उनले बताए । 

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको थियो । जसअन्तर्गत व्याँस–६ बडूगाउँस्थित महाकाली नदीमा गत फागुनमै झोलुङ्गे पुल निर्माण भएको थियो । त्यस्तै व्याँस–४ मडगाउँमा पनि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भइसकेको छ । तर अन्य भौतिक संरचना निमार्ण कार्य भइरहेको छ । यस्तै व्याँस गाउँपालिका–२ मालमा पुल निर्माणाधिन छ ।

निर्माण सम्पन्न पुलहरु संचालनमा नआउँदा स्थानीयहरु लुकिछिपी अवैध तुइनको सहारामा वारपार गर्न बाध्य छन् ।  एकै प्याकेजमा सम्पन्न २ वटा पुल संचालनको तयारीमा रहेको बताइएको छ । पुल संचालनका लागि भारतसँग समन्वय भइरहेको प्रजिअ उपाध्यायले बताए ।