सुन्दरी प्रतियोगितामा बलात्कारको आरोप लागेका मनोज पाण्डे माथि मुद्दा चलाउने तयारी

सुन्दरी प्रतियोगितामा बलात्कारको आरोप लागेका मनोज पाण्डे माथि मुद्दा चलाउने तयारी


काठमाडौँ – सुन्दरी प्रतियोगितामा सहभागी भएकी तत्कालीन किशोरीलाई करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्ने म्याद लिनका लागि काठमाडौँ जिल्ला अदालतमा सोमबार पेश गर्ने भएको छ।

पक्राउ गरेपछि २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था भएको भएपनि आइतबार सार्वजनिक विदा भएको कारण शनिबार पक्राउ परेका पाण्डेलाई उपस्थित गराउन लागिएको हो।

जबरजस्ती करणीसम्बन्धी अभियोग लगाउन हदम्याद नाघेपछि पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

सोमबार संसदको महिला तथा सामाजिक समितिमा उपस्थित भएर गृहसचिव टेकनारायण पाण्डेले उनलाई ऐनको दफा ४ (२)(ख) बमोजिमको कसरी गरेको अभियोगमा मुद्दा चलाउने तयारी सरकारले गरेको जानकारी दिए।

आठ वर्षअघि भएको घटनाको तत्कालीन कानुनमा भएको हदम्याद र त्यसपछि बनेको मुलुकी अपराध संहिता २०७४ ले दिएको हदम्यादसमेत नाघेपछि प्रहरीले हदम्याद आकर्षित नहुने मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको हो।

तत्कालीन कानुनमा करणीको हदम्याद ३५ दिन र नाबालिकको हकमा उमेर पुगेको एक वर्षसम्म उजुरी दिन सकिने नजिर थियो।

पक्राउ परेका पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ को दफा ४ (२) (ख)अनुसार मुद्दा चलाउन उनलाई एक वर्षदेखि दुई वर्षसम्म कैद हुने व्यवस्था छ।

उक्त कसुर गरे बापत अभियुक्त हुने सजायबारे उल्लेख गरिएको छ, ‘शोषण गर्ने उद्देश्यले दफा ४ को उपदफा (२) को (ख) बमोजिम नेपालभरको एक ठाउाँबाट अको ठाउाँमा लैजानेलाई एक वर्षदेखि दुई वर्षसम्म कैद र विदेश लगेको भए दुई वर्षदेखि पाँच वर्षसम्म कैद’

एक ब्यूटी प्याजेन्टको क्रममा आयोजकले नै आफूमाथि बलात्कार गरेको दाबी गर्दै एक युवतीले सामाजिक सञ्जालमा भिडियो सार्बजानिक गरेकी थिइन्।

भिडियो सार्वजनिक भएपछि हदम्याद सम्बन्धी कानुनलाई संशोधन गर्नुपर्ने आवाज चर्को रुपमा उठेको छ। तर पाश्चदर्शी कानुन बनाएर सजाय गर्न नपाइने फौजदारी न्यायको सिद्धान्त भएकाले पाण्डेलाई मानव बेचबिखन ऐन अन्तरगत नै मुद्दा चलाउनुपर्ने निष्कर्षमा सरकारी पक्ष पुगेको छ।