धनगढीका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सुशासनसहितको समृद्ध धनगढी बनाउन चन्दको आग्रह

धनगढीका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सुशासनसहितको समृद्ध धनगढी बनाउन चन्दको आग्रह

धनगढी । धनगढी उपमहानगरपालिकामा नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार रहेका रणबहादुर चन्दले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई समृद्ध धनगढी बनाउने गरी काम गर्न आग्रह गरेका छन् । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता चन्दले पार्टीको प्रतिबद्धता पत्रको मर्मअनुसार कार्य गर्न नवनिर्वाचित नगर नेतृत्वहरूलाई सुशासनसहितको समृद्ध धनगढी बनाउने गरी काम गर्न आग्रह गरेका हुन् । 

‘नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानालगायत १९ वटै वडाका अध्यक्ष र सदस्यहरूलाई बधाईसहित उत्कृष्ट कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु’ उनले भने ‘सुशासनसहितको समृद्ध धनगढी बनाउन साथ सहयोग र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता गर्दछु ।’ 

उनले छोटो प्रचार प्रसारको समय, स्वतन्त्र उम्मेदवारको पाँच वर्षदेखिको पूर्व तयारी, नेकपा एमालेलाई पाँच दलीय गठबन्धनमार्फतको चौतर्फी घेराबन्दी र लामो समय पार्टीको एकता–विभाजन जस्ता कार्यले प्रमुख पदमा हार व्यहोर्नु परेको बताए ।

उनले व्यक्ति वा दलको सफलता वा असफलता मुख्य कुरा नभएको र ठुलो बलिदानी र सङ्घर्षबाट स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सफलता प्राप्त गर्नु महत्त्वपूर्ण भएको बताएका छन् ।  

त्यस्तै, चन्दलेले आफू पराजय व्यहोर्नु भन्दा पनि नगर उपप्रमुखसहित छ वटा वडामा वडा अध्यक्षसहित सदस्यहरू निर्वाचित हुनुमा विजयी भएको बताएका छन् । भने उनले निर्वाचनलाई सफल बनाउन खटिएका कर्मचारीदेखि सम्पूर्ण आम मतदाता प्रति आभार पनि व्यक्त गरेका छन् ।