विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षक पक्राउ

काठमाण्डौ – विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाण्डौबाट एक जना शिक्षक पक्राउ परेका छन् । कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो । 

अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै आज मङ्गलवार बिहान विद्यार्थीहरू आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालाको प्रहरी वृत्तमा बोलाएको थियो । अभिभावक र विद्यार्थीलाई सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । 

अधिकारीले ‘आफूले भनेअनुसार गरेमा सहयोग गरिदिने’ भनेर छात्रामाथि गलत मनसाय राखेको विद्यार्थीहरूको आरोप छ । पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रहरी वृत्त गौशालाबाहिर केहीबेर प्रदर्शनसमेत गरेका थिए ।